सुदूरपश्चिम

अनाथालयका प्रमुख चन्दमाथि बलात्कारको आरोप

२३ माघ, महेन्द्रनगर । मानसिक अवस्था स्थीर नभएकी एक बालिकालाई एक वर्षदेखि प्रलोभनमा पारेर जबरर्जस्ती करणी गरेको अभियोग अनाथालयकै कार्यालय प्रमुख ५१ वर्षीय शङ्करबहादुर चन्द माथि अहिले लागेको छ । दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित बाल अनाथालयमा बेसहारा १४ वर्षीया ती बालिकाले आश्रय पाएकी थिइन ।

यहाँ दुई नाबालिकाले आफूहरुमाथि बलात्कार गरेको प्रहरी समक्ष बयानसमेत दिएका प्रहरी स्रोतको भनाइ छ । एक साताअघि यहाँस्थित समाज कल्याण बाल अनाथालयका एक नाबालिकामाथि पनि अनाथालयमै जबरर्जस्ती करणी गरेको आरोप लागेका कार्यालय प्रमुख चन्द यतिबेला कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

“उनले बालिकालाई टिभी हेराउने बहनामा कार्यकक्षमै लगेर बलात्कार गर्ने गरेको अन्य बालिकाले देखेको कुरो पनि छ ।” अनाथालयकै एक कर्मचारीले भने, “ बालिका गर्भवती भएपछि चन्दले नै गर्भ तुहाउने औषधि सेवन गराएपछि अत्यधिक रक्तश्राप हुँदा घटना बाहिरिएको हो ।” यता प्रहरीले उक्त घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी निरीक्षक भरतराज गिरीले आरोपित चन्दलाई हिरासतमा राखी जबरजस्ती करणी मुद्दामा सात दिन म्याद थप गराएर अनुसन्धान अघि बढाइएको जानकारी दिए । “अन्य कागजात जुटाउनेदेखि घटनाको सबै कोणबाट अनुसन्धान हुदैछ ।” उनले भने, “बालिकालाई शान्ति पुनःस्थापना गृहको संरक्षणमा राखिएको छ ।”

गत माघ १७ गते प्रहरीले बालिकामाथि बलात्कारको सूचना प्राप्त गर्नासाथ चन्दलाई नियन्त्रणमा लिएको थियो । टुहुरा बालबालिकाको आश्रयस्थलमै बालबालिकामाथि संरक्षकबाटै भएका यौन दुव्र्यवहारका घटनाप्रति यहाँ सर्वत्र विरोध भइरहेको छ । महेन्द्रनगरमा विद्यार्थीले जिल्ला प्रहरी कार्यालय, भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

“घटनाको अनुसन्धानमा कुनै कसर बाँकी राख्नुहुदैन ।” नेपाल विद्यार्थी सङ्घकी नेतृ सञ्जु अधिकारीले भनिन् , “बालिकामाथि अभिभावकीय भूमिका निर्वाह गर्ने व्यक्तिबाटै दुव्र्यबहार हुनु निकै असैह्य घटना हो ।”

विद्यार्थीले बालबालिकाको सुरक्षाको विषयमा सरोकारवाला निकाय सचेत हुनुपर्नेमा जोड पनि दिए । “बालिकाको अनाथालयमा रक्तश्राप नभएको भए घटना बाहिर नै आउने थिएन ।” यहाँस्थित कञ्च विद्या मन्दिरमा स्नातक तहमा अध्ययन प्रकृति भट्टले भनिन् , “ सामान्य अवस्थामा पनि अनाथालय समितिका पदाधिकारीले बालबालिकाको मनोभावना नबुझ्ने र सुरक्षाको विषयमा सचेत नभएका कारण पनि यस्ता घटना भइरहेका छन् ।”

उनले महिला तथा बालबालिकाको सुरक्षा र बलात्कारजस्तो जघन्य अपराधमा सुक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही नगरेसम्म घटना बढ्दै जानेप्रति चिन्ता व्यक्त गरिन् । समाज कल्याण अञ्चल बाल अनाथालयका अध्यक्ष पूर्णबहादुर चन्दले प्रेस विज्ञप्ति जारी गरी बालिकामाथि यौन दुव्र्यवहार गर्ने अपराधीमाथि छानबिन गरी कारबाही हुनुपर्नेमा जोड दिए ।

बाल अनाथलयजस्तो पवित्र संस्थामा यसप्रकारको घटना हुनु अतिनै दुख्द विषय भएकाले उक्त घटनाको अनुसन्धानका लागि अनाथालय व्यवस्थापनले प्रहरी प्रशासनलाई पूर्ण सहयोग गर्ने विज्ञप्तिमा जनाइएको थियो ।