राजनीति

सरकारी आईटी क्षेत्रको सुरक्षाको साँचो सरकारसँगै नभएको सञ्चारमन्त्रीको दावी

२४ माघ, काठमाडौं । ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उ्रक्त प्रदर्शनी आज उद्घाटन गरेकी हुन् ।

प्रदर्शनी उद्घाट गर्दै मन्त्री शर्माले नेपाल सरकारको सूचना केन्द्र र समग्र आईटी क्षेत्रको सुरक्षाको साँचो सरकारसँगै नभएको बताएकी छन् । ती साँचो कहाँ छन् खोज्ने बेला भएको उनको भनाइ छ ।

त्यस्तै, उनले आईटी क्षेत्रका दक्ष जनशक्ति विदेश पलायन भएकाले विदेशीहरूबाट सेवा लिनुपर्दा सुरक्षामा चुनौति भएको आशय व्यक्त गरिन् । सरकारले आईटी क्षेत्रलाई प्राथमिकतामा नराख्दा यहाँका दक्ष जनशक्ति विदेश पलायन भइरहेको र यसले गर्दा यहाँको आईटी क्षेत्र विदेशी जनशक्तिको हातमा परेको उनको भनाइ थियो ।

‘हामीले आफ्ना जनशक्ति जोगाउन नसक्ने र आफूलाई आवश्यक पर्दा बाहिर (विदेश) बाट मान्छे ल्याउनुपर्ने स्थिति भइरहेको छ,’ उनले भनिन्, ‘यसले गर्दा हाम्रा डेटा सेन्टर र प्रविधिको काम गर्ने निकायको सुरक्षाको मुल साँचो हामीसँग छैन । मुल साँचो नै आफूसँग नहुँदा हामीले कसरी राष्ट्रियता बचाउन सक्छौँ ?’

मन्त्रालयहरूमा इन्स्टल भएका सफ्टवेयरहरूको डेटा कहाँ जान्छ, त्यसको प्रयोग कसरी भइरहेको छ भन्नेबारे खोजी गर्न आवश्यक रहेको मन्त्री शर्माले बताएकी छन् ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन् ।

माघ २५ देखि २८ गतेसम्म हरेक दिन आइसिटी सेमिनार सञ्चालन गरिने पनि आयोजक क्यान महासङ्घले जनाएको छ । क्यान इन्फोटेकमा विभिन्न प्रविधिका वस्तु तथा सेवाको ब्रान्डिङ, प्रडक्ट लन्चिङ, विद्यार्थीका लागि आइटी करियर काउन्सिलिङलगायत कार्यक्रम समावेश गरिएको छ । यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई प्राथमिकतामा राखिएको र करिब साढे तीन लाखजनाले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ ।