गण्डकी प्रदेश

लोकसेवा आयोग योग्य जनशक्तिको जननी : प्रदेश प्रमुख परियार

६ फागुन, काठमाडौं । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले लोकसेवा आयोग योग्य एवं सक्षम जनशक्तिको जननी भएको बताएका छन् ।

कर्णाली प्रदेश लोकसेवा आयोगको आज परेको दोस्रो वार्षिकोत्सवका अवसरमा बोल्दै प्रदेश प्रमुख परियारले आयोग योग्य, क्षमतावान् र कर्मठ कर्मचारी जन्म दिने भएकाले यसको क्षमता विकास गर्नुपर्ने सुझाव दिए ।

संविधानले दिएको अधिकार र सङ्घीयताको भावनाअनुरुप समावेशिताका आधारमा निजामती क्षेत्रमा चाहना भएका उम्मेदवारहरूले आयोगलाई ठूलो विश्वास गरेको उनले जनाए । आयोगले छोटो समयमै धेरै उल्लेखनीय काम गरेर सेवा प्रवाह चुस्त र कामलाई सहज बनाउन विशेष योगदान पु¥याएको भन्दै प्रदेश प्रमुखले आयोगप्रति कृतज्ञता प्रकट गरे ।

दिवसमा मुख्यमन्त्री राजकुमार शर्माले नेपालमा प्रशासनिक सङ्घीयता कार्यान्वयन हुन नसकेको टिप्पणी गर्दै यसमा प्रभावकारिता आवश्यक भएको बताए । उनले भने, “शिक्षा प्रणाली एकातिर, कार्यसम्पादन अर्कोतिर भएकाले सक्षम कर्मचारीले मात्र सही दिशा दिन सक्छन् ।”

कर्णाली प्रदेशका प्रमुख सचिव डा गोपीकृष्ण खनालले प्रदेश निजामती सेवा ऐनको मस्यौदा तयार गर्ने काम भइरहेको बताए । “आयोगले प्रशासनिकभन्दा प्राविधिक कर्मचारी पूर्ति गर्नुपर्ने छ । सरकारले त्यसका लागि आवश्यक माग गर्छ”, उनले भने । उनले कर्मचारीको सेवा सुविधा थप गर्नुपर्नेमा समेत जोड दिए ।