१९ फागुन,खजुरा । बाँकेका मुख्य नाकाबाहेक अन्यमा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलनको लक्ष्य भेट्टाउन सकिएको छैन । सीमावर्ती क्षेत्रका सात छोटी भन्सार कार्यालय करिब दुई दशकदेखि बन्द छन् । ती कार्यालय हालसम्म पुनः स्थापना गर्न सकिएको छैन ।
सात वटै छोटी भन्सार कार्यालय सशस्त्र द्वन्द्वका समयमा विस्थापित भएका हुन् । ती नाकाबाट ठुलो परिमाणमा विभिन्न सामग्री राजस्व छलेर खुला रूपमा भारतबाट नेपाल ल्याउने गरीकाले राजस्वको लक्ष्य पूरा गर्न समस्या भइरहेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लीप्रसाद शर्माले बताए । छोटी भन्सार कार्यालय बन्द गरिएका नाकाबाट खुला रूपमा चोरी पैठारी बढेको उनको भनाइ छ ।
सशस्त्र द्वन्द्वको बेला बन्द गरिएका ती छोटी भन्सार हालसम्म पनि पुनः स्थापना नहुँदा जिल्लाका विभिन्न नाकाबाट अवैधरुपमा आयात निर्यात बढेकाले दैनिक ठुलो परिमाणमा राजस्व चुहावट भएको छ । सुइया बगौडास्थित कट कुइया, नरैनापुर, भगवान्पुर, खडै चा लोहिया, हिरमिनियाको भंघोटना, साई गाउँ र साई गाउँ पश्चिमतर्फको उढरापुर नाकामा छोटी भन्सार कार्यालय रहेका थिए ।
लामो समयदेखि कार्यालय पुनः स्थापना नहुँदा अधिकांश छोटी भन्सार कार्यालयका भौतिक संरचना जीर्ण भएका छन् । गाउँको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनः स्थापना नगरिँदा भारतसँग सीमा जोडिएका ती बाटोबाट खुलेआम तस्करी हुने गरेको स्थानीयको भनाइ छ ।
छोटी भन्सार नहुँदा राजस्व चुहावट लामो समयदेखि हुँदै आएको डुडुवा गाउँपालिका–१ का अध्यक्ष पटेश्वर कुर्मीले बताए । भारतबाट अवैध रूपमा हुने चोरी पैठारीले लक्ष्यअनुसार भन्सार राजस्व सङ्कलन गर्न नसकिएको तथा स्थानीय व्यवसायीको व्यापार चौपट हुँदै गएका कारण उद्योगी व्यवसायीले तत्काल छोटी भन्सार पुनः स्थापनाको माग गरेका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले लामो खुला सिमानामा एउटा मात्र भन्सार हुँदा चोरी पैठारी अत्यधिक बढेर राजस्व सङ्कलनसँगै व्यापार व्यवसाय पनि प्रभावित भएको बताए । आर्थिक वर्ष २०७८÷७९ मा रु २५ अर्ब २१ करोड २६ लाख राजस्व असुली गर्ने लक्ष्य राखेकामा रु २२ अर्ब ३१ करोड २६ लाख अर्थात् ८८ दशमलव पाँच प्रतिशत मात्र असुली गर्न सकेको भन्सार कार्यालयले जनाएको छ । चालु आवको हालसम्म हरेक महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भइरहेको सो कार्यालयले जनाएको छ ।