१९ फागुन, काठमाडौं । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर नेपाली कांग्रेस समर्थित भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा आन्तरिक भिडन्त हुन थालेको छ। नेविसंघमा स्ववियु निर्वाचनलाई नै लिएर संस्थापन र इतर पक्षको विवाद चुलिदा हिजो कुटाकुट भएको हो ।
स्ववियु निर्वाचनका लागि दुवै पक्षले प्रतिनिधि खटाएपछि विवाद बढेको थियो। सोही विवाद मिलाउन भन्दै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा बसेको बैठकमा विवाद चर्किदा एक आपसमा कुटाकुट भएको थियो ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पा पक्षले आफ्ना कार्यकर्तालाई कुटेको सस्थापन इतर पक्षले आरोप लगाएको छ । पूर्व कोषाध्यक्ष शिव रिमाल कुटपिटबाट घाइते भएका थिए। उनलाई टाउकोमा गम्भीर चोट लागेका कारण स्टार अस्पतालमा भर्ना गरिएको छ।
अध्यक्ष शेर्पाले त्रिवि कीर्तिपुरका लागि केन्द्रीय प्रतिनिधि पदम भट्टराईलाई तोकेका थिए तर नेता शेखर कोइराला पक्षधरले पनि प्रवीण कैनीलाई प्रतिनिधि बनाएपछि दुई पक्षबीच विवाद बढेको थियो ।
संघमा समानान्तर गतिविध गर्दै आएको सस्थापन इतर पक्षले स्ववियु निर्वाचनको लागि उपत्यकाका ३५ क्याम्पसमा केन्द्रीय प्रतिनिधि चयन गरेको थियो । संस्थापन पक्षले समानान्तर गतिविध गर्दै तोकिएको प्रतिनिधिलाई मान्यता नदिने बताएको छ ।