२० फागुन, पाल्पा । कृषि उत्पादनलाई बढवा दिन पाल्पामा कृषि मेला आयोजना गरिने भएको छ । तानसेन नगरपालिका–९ को तिन्टी आँपमा आगामी चैत ३ गते हुने कृषि मेला, २०७९ सञ्चालनको तयारी भइरहेको छ ।
मेलामा प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, कृषि यन्त्र, बीउ बिजन, नर्सरी बिरुवा बिक्री–वितरण, पशु रोग निदान तथा गोबर परीक्षण, कृषि संवाद कार्यक्रम, कृषि परिकार स्टल, प्लान्ट क्लिनिक, जैविक मल उत्पादन तथा माटो परीक्षण गरिने तानसेन–९ का वडाध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिए ।
कृषि उत्पादन बढाउन, कृषकलाई व्यावसायिक बनाउन प्रोत्साहन गर्न लागिएको यस मेलाले कृषकमा उत्साह थपिएको छ । ‘कृषि कर्ममा सहभागी बनौँ, परनिर्भरताको अन्त्य गरौँ’ भन्ने नारासहित कृषि सेवा केन्द्र दमकडा, मदन पोखरा सङ्गम सहकारी, कृषि मेला उपभोक्ता समिति तानसेन–९ को आयोजनामा मेला हुँदै छ । कृषि ज्ञान केन्द्र पाल्पा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ पाल्पाको सहयोगमा मेला गर्न लागिएको हो ।