२१ फागुन, घोराही। पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीको स्रोत बन्दै गएका हुन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लिएर आयआर्जनसमेत गर्न थालेका छन् । बेफुर्सदिला हुन थालेका जिल्लाका अधिकांश महिलाले रकम झिक्ने र राख्ने गर्दा सहकारी संस्था पनि फलदायी तथा नाफामुखी बन्दै गएका छन् ।
महिलाले सञ्चालन गरेका सहकारीका कारण अन्य स्थानीय महिलाले पनि गाउँमै रोजगारीसमेत पाएको घोराही उपमहानगरपालिका–१८ फुर्सेखाली स्थित एकता महिला बहु उद्देश्य सहकारी संस्थाका अध्यक्ष रेबा अधिकारीले बताए । यो संस्था स्थापनाकालदेखि महिलाकै नेतृत्वमा सञ्चालन हुँदै आएको छ । यस्ता सहकारी संस्थामार्फत महिलालाई सशक्तीकरण गराउनाका साथै आर्थिक स्थितिमा समेत विगतको तुलनामा निकै सुधार आएको उनको भनाइ थियो ।
संस्थामा आबद्ध महिलामा थोरै भए पनि बचत गर्नुपर्छ भन्ने बानीको विकास भएको अध्यक्ष अधिकारीले उल्लेख गर्नुभयो । “संस्थामा बचत गरेको रकमले आफूलाई समस्या परेको समयमा निकालेर समस्या समाधान गर्न सकिन्छ,” उनले भने।
विसं २०५५ मा स्थापना भएको यस सहकारी संस्थाले विशेष गरेर महिला स्वरोजगारको पाटोलाई बलियो बनाउँदै लगेको छ । संस्थामा हालसम्म आबद्ध पाँच सय १४ सदस्य मार्फत रु पाँच करोड बराबरको कारोबार गर्न सफल भएको छ ।
संस्थाले मुख्यता बचत र ऋण कारोबारसँगै सदस्यलाई विभिन्न आयआर्जनमा समेत जोड्दै लगेको छ । घोराही उपमहानगरपालिका–१८ हात्ती खर्क निवासी सदस्य रिता नेपालीले विगत लामो समयदेखि बेसार खेती गर्दै आएका छन्। सदस्यले उत्पादन गरेको बेसारलाई सहकारीले प्रतिकिलो रु तीन सयमा बिक्री वितरण गर्दै आएको छ । रिताजस्तै यहाँका धेरै महिला दिदीबहिनीले बेसार खेती गर्दै आएका छन् ।
घरमा खाली बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोचका साथ बेसार खेती गर्दै आएको उनको भनाइ थियो। सहकारी संस्थामा आबद्ध सदस्यहरूका उत्पादनलाई संस्थाले चाना काटेर, सुकाएर र पिसाएर बेच्ने गर्दै आएको छ । स्थानीय स्तरमा सञ्चालन हुने मेला महोत्सवमा पनि उक्त संस्थाले बेसार बेच्ने गरेको छ । हात्ती खर्क बेसार खेतीका लागि राम्रो सम्भावनाको क्षेत्र रहेको छ । संस्थामा आबद्ध सदस्यहरूले पर्याप्त मात्रामा बेसार उत्पादन गरे पनि बजारीकरणका लागि भने केही समस्या रहेको सहकारीकी उपाध्यक्ष सुनकुमारी विष्टले बताए।
हामी सबै सदस्यहरू बाहिरको बेसारभन्दा संस्थाबाटै किनेर लैजाने गरेको उहाँले जानकारी गराए। वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गर्ने संस्थाले बेसार पनि बिक्री गर्दछ । सदस्यहरूले ले मासिक रु पाँच सयदेखि दुई हजारसम्म सहकारीमा बचत गर्नाका साथै ऋण लिएर विभिन्न तरकारी खेती, किराना पसल अन्य उद्यम तथा व्यवसाय गर्दै आएका छन् ।
यस्तै सोही ठाउँका कबल बुढाले पनि अल्लो व्यवसाय गर्दै आएका छन् । सहकारीबाट सहुलियतमा ऋण लगेर उहाँले अल्लोको व्यवसाय गर्दै आउनुभएको हो । आगामी दिनमा स्थानीय तहमार्फत केही सहयोग पाएमा संस्थामा आबद्ध सदस्यलाई विभिन्न सीपमूलक कार्यमा जोड्न सकिने अध्यक्ष अधिकारीले बताए।
सहकारीले विभिन्न समयमा सीपमूलक तालिमका साथै सहकारी सचेतना जागरण तालिम प्रदान गर्दै आएको छ । तालिममा सहकारीको महत्त्व, सहकारीको सिद्धान्त, सहकारीको भूमिका, बचत किन, बचतका फाइदा, सहकारीका ऐन, नियम, लैङ्गिक हिसा न्यूनीकरणलगायत विषयमा जानकारी दिइन्छ । साथै संस्थाले कुनै सदस्यको मृत्यु भएमा रु १० हजार र सुत्केरी भएको बेला रु दुई हजार सहयोग उपलब्ध गराउँदै आएको छ ।