गण्डकी प्रदेश

व्यासमा कृषकलाई मकैको बीउ वितरण 

२६ फागुन, तनहुँ । तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो । 

व्यासका चौध वटै वडाका कृषकलाई मकैको बीउ वितरण  गरिएको हो । कृषकलाई अरुण–२, रामपुर कम्पोजिट, मनकामना–३ लगायत जातको मकैको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिए। प्रत्येक वडाबाट सिफारिस भई आएका कृषकलाई उनीहरूले माग गरेको आधारमा बीउ उपलब्ध गराएको उनले बताए।

“हालसम्म छ मेट्रिक टन बीउ वितरण गरिसकेका छौँ”, बगालेले  भने, बाँकी बीउ वितरण जारी छ । उन्नत जातको मकैको बीउको मूल्य प्रतिकिलो रु एक सय ३० देखि रु एक सय ५० कायम गरिएको छ । कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित तथा आत्मनिर्भर बनाउने उद्देश्यले बीउमा अनुदान दिन थालिएको उनको भनाइ छ । 

व्यास नगरपालिकाले यसअघि चौध वटै वडाका कृषकलाई २२  मेट्रिक टन आलुको बीउ वितरण गरेको थियो । यसै गरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीका घारसमेत वितरण गर्न लागेको छ । एक सय कृषकलाई मौरीसहितको घार प्रदान गरिने कार्यालयले जनाएको छ ।