राजनीति

नयाँ पुस्तालाई पार्टीमा ल्याउनुपर्छ : अध्यक्ष ओली

२६ फागुन, काठमाण्डौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति नयाँ पुस्तालाई आकर्षित गराउनुपर्ने बताएको छ । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेपाल खेलकुद महासङ्घका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई आज सम्बोधन गर्दै उनले नयाँ पुस्तालाई खेलमा आकर्षित गरेर पार्टीमा ल्याउनुपर्ने बताए ।

“खेलमार्फत नयाँ पुस्तालाई नजिक ल्याउँछौँ । नजिक ल्याएपछि कार्यकर्ता हुन्छन्”, उनले भने । अध्यक्ष ओलीले आफू क्षणिक राजनीतिक खेलमा सामेल नहुने तर्क गरे । उनले एमाले देश बनाएर अगाडि बढ्ने र छोटो दौडमा नभई म्याराथुनमा कुद्ने बताए । अध्यक्ष ओलीले खेलाडीलाई खेलाडीमात्र नभई समाज परिवर्तनको योद्धासमेत रहेको स्मरण गए।

अध्यक्ष ओलीले मानिस गलत संगतमा नपरोस् भन्नका लागि सही सङ्गततिर ल्याउनका लागि राजनीतिमा सहभागी गराउनुपर्ने बताए । उनले खेलाडीलाई अहङ्कार आफूभित्र प्रवेश गर्न नदिन पनि शालीन र विनम्र हुनुपर्ने बताए। उनले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा डोर्याउने काममा महासङ्घले गर्नुपर्ने भनाइ राखे ।

उनले आफ्नो गन्तव्य ‘समृद्ध नेपाल र सुखी नेपाली’ रहेको बताए । महासङ्घको हालै विराटनगरमा भएको दोस्रो राष्ट्रिय अधिवेशनले परशुराम बस्नेतको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी चयन गरेको थियो ।