सुदूरपश्चिम

महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम

१ चैत्र, बैतडी । बैतडीको मेलौली नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ । यसका लागि सीपमूलक तालिम सञ्चालन गरिराखेको छ । महिलालाई विभिन्न आयआर्जन काम गर्न सहज होस् भन्ने ध्येयले सीपमूलक तालिम सञ्चालमा प्राथमिकता दिएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताए।

हाल वडा नं ४ मा तीनमहिने आधारभूत सिलाइकटाइ र सातदिने व्यावसायिक सीप विकास कुखुरापालन तालिम सञ्चालनमा छ । सिलाइकटाइ तालिम जीवन उपयोगी हुने भएकाले नगरले यस्ता कार्यक्रमलाई प्राथमिकतामा दिएको हो । उनले भने, “सीपले मानिसलाई स्वरोजगार बनाउनमा मद्दत पुग्छ, श्रम र सीपले आयआर्जन गर्न सकिने भएकाले सीप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुन्छ ।”

सिलाइकटाइ तालिमका लागि वडाले एक लाख रुपैयाँ बजेट विनियोजन गरेको वडाअध्यक्ष हर्कबहादुर चन्द जानकारी दिए। साथै नगरपालिका–७ मा महिलाहरुका लागि सातदिने नेतृत्व तथा सीप विकास तालिम सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय तथा सामाजिक विकास कार्यालय बैतडीको संयुक्त आयोजनामा तालिम सम्पन्न भएको हो ।

तालिममा आर्थिक स्थिति कमजोर भएका तथा एकल महिलाहरुलाई सहभागी गराइएको र स्वस्थ पोषण तरकारी खेतीको महत्व, तरकारीमा गहुँतको प्रयोग, मौसमी र बेमौसमी तरकारी खेती प्रविधि लगायतका विषयमा छलफल भएको थियो । तालिममा सहभागी महिलाहरुको आर्थिक स्थिति सुधार र आयआर्जनका लागि सामाजिक विकास कार्यालय बैतडीले अनुदानस्वरुप रु २० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । तालिममा पालिकाभरिका २० महिलाहरुको सहभागिता रहेको थियो ।