१७ चैत्र, काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा (एसइई)परीक्षा आज बाट सुरु हुँदैछ । देशभरमा २ हजार ३७ परीक्षा केन्द्रमा सञ्चालन हुँदै छ । परीक्षा बिहान आठ बजेदेखि सुरु हुनेछ । परीक्षामा सहभागी हुन ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा रजिस्ट्रेसन फाराम बुझाएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरू एसइईमा सहभागी हुने भएकाछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानको टोकियो बाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरू एसइईमा सहभागी हुन लागेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।
७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एसइई परीक्षा समिति गठन गरेर व्यवस्थित गरिएको हो । विद्यार्थीले पढेको भन्दा फरक विद्यालयको केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ ।
परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी भएका छन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी छन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० दृष्टिविहीन विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।
यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत विद्यालय एसइईमा सहभागी छन् । एसइईमा गत वर्ष देशभरबाट पाँच लाख १८ हजार एक सय ८५ विद्यार्थीले आवेदन दिएका थिए । परीक्षामा भने चार लाख ९५ हजार छ सय ४८ विद्यार्थी सहभागी भएका थिए ।
परीक्षालाई शान्तिपूर्ण र मर्यादितरुपमा सम्पन्न गराउन परीक्षा बोर्डले प्रत्येक प्रदेशमा प्रदेश सचिवको अध्यक्षतामा गठन भएका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले बोर्डको निर्देशनको परिधिभित्र रहेर प्रदेशभित्रका परीक्षा सञ्चालन, व्यवस्थापन र अनुगमन गर्ने छन् ।
जिल्लामा प्रमुख जिल्ला अधिकारी प्रमुख, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सदस्य सचिव, जिल्लाका सुरक्षा निकायका प्रमुखलगायत रहने गरी गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिले व्यवस्थापन तथा अनुगमन गर्नेछन् । देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन गरिएको नियन्त्रक श्रेष्ठले जानकारी दिए। चैत २९ गतेसम्म परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।