२४चैत्र, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक एवं मनोसामाजिक स्वास्थ्य समस्या भएका बिरामीका लागि अन्तरङ्ग सेवा थप्न माग गरिएको छ ।
मानसिक स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै सो सेवा थप्न माग गरेका हुन् । प्रतिष्ठानमा मानसिक रोगका लागि बहिरङ्ग सेवामात्र उपलब्ध छ तर अन्तरङ्ग सेवा नहुँदा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामी निजी अस्पताल धाउनुपर्ने बाध्यता छ ।
सरकारी अस्पतालमा अन्तरङ्ग सेवा नहुँदा आर्थिक अवस्था कमजोर भएका तथा जेष्ठ नागरिकलाई मानिसक रोगको उपचार गर्न समस्या भएकाले निजी अस्पताल, पुनःस्थापना केन्द्र र मानवसेवा आश्रममा जानुपर्ने बाध्यता रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
इन्सेक, कोसिस, कोपिला नेपाल, शक्ति समूह आदि संस्थाले यसअघिदेखि नै प्रतिष्ठानमा मानसिक स्वास्थ्य सेवा थप्न माग गर्दै आएका छन् । ज्ञापनपत्रमा यथाशक्य चाँडो अस्पतालमा अन्तरङ्ग सेवा सुरु गर्न माग गरिएको छ ।
प्रतिष्ठानका निर्देशक डा खत्रीले छुट्टै भौतिक संरचना बनाएर मानसिक स्वास्थ्य सेवा प्रवाह गर्ने तयारी भइरहेको बताए। उनले प्रतिष्ठानमा मानसिक तथा मनोसामाजिक स्वास्थ्य सेवा विस्तार गरिने प्रतिबद्धता जनाए।
जनस्वास्थ्य ऐन, २०७५ मा प्रत्येक व्यक्तिलाई मानसिक रोगसम्बन्धी सेवाको पहुँच हुनुपर्ने उल्लेख छ । नेपाल राष्ट्रिय अनुसन्धान परिषद्को अनुसन्धान प्रतिवेदनअनुसार गण्डकी प्रदेशका १० दशमलव सात प्रतिशत व्यक्तिमा मानसिक समस्या भएको देखिन्छ ।