सुदूरपश्चिम

टीकापुर साहित्य महोत्सव : सात विधामा प्रस्तुति

२५चैत्र, टीकापुर । कैलालीको टीकापुरमा पहिलो पटक साहित्य महोत्सव सुरु भएको छ । पहिलो दिन आज सात विधामा प्रस्तुति गरिँदै छ । पहिलो प्रस्तुति ‘साहित्यमार्फत सामाजिक सद्भाव’ विषयमा राजनीतिक विश्लेषक तथा लेखक सिके लालको प्रस्तुति रह्यो ।

दोस्रो प्रस्तुति ‘साहित्य किन लेख्ने रु किन पढ्नेरु’ भन्ने विषयमा चल्दै छ । यसमा साहित्यकार केशव दाहाल, बुद्धिसागर र शिवानीसिंह थारूको प्रस्तुति रहने छ भने यसको सहजीकरण दीपक सापकोटाले गर्नेछन् । तेस्रो प्रस्तुति ‘बैकिनीका आँसुमा डुब्छ, सुदूरपश्चिमको धर्ती’ विषयमा उमा वादी, उन्नति चौधरी र कल्पना भट्टको रहनेछ । यसको सहजीकरण पत्रकार आरती चटौतले गर्ने टीकापुर साहित्य समाजका सचिव बाबु देवकोटाले जानकारी दिए।

यस्तै चौथो प्रस्तुति ‘पाठकको रोजइमा उपन्यास नै किन ?’ विषयमा नयनराज पाण्डे, अमर न्यौपाने र उमा सुवेदीको रहने छ । यसको सहजीकरण पत्रकार तथा लेखक यज्ञशले गर्ने भएको छ । पाँचौँ प्रस्तुति ‘आख्यानमा पहिचानका मुद्दा’ विषयमा हुनेछ । यसमा अर्चना थापा, फूलमान वल र राजेन्द्र विमलका कुरा सुन्न पाइनेछ । यसको सहजीकरण गुरुङ सुशान्तले गर्नेछन्।

महोत्सवमा छैटौँ प्रस्तुति ‘गद्यकविताको शक्ति’का विषयमा हुनेछ । गद्यकविताको शक्तिबारे श्रवण मुकारुङ, सरिता तिवारी र निभा शाहको रहनेछ । यसमा नवीन अभिलाषीले सहजीकरण गर्नुहुने सचिव देबकोटाले बताए। सातौँ प्रस्तुति घनश्याम खड्काको सहजीकरणमा ‘बाटो बिराएको आजको शिक्षा’बारे हुनेछ । यसमा डा सञ्जीव उप्रेती र प्रा डा भारती जोशीको प्रस्तुति रहने छ । साँझ पाँच बजेपछि कार्यक्रम काव्य सन्ध्या आयोजना गरिने छ । काव्य सन्ध्याको सहजीकरण साहित्यकार अशोक बोहरा असीम पीडाले गर्ने छन् ।

कार्यक्रममा ‘हाम्रो प्रधानमन्त्री कस्तो हुनुपर्छ’ भन्ने विषयमा विद्यार्थीबीच छलफल हुनेछ । साहित्य महोत्सवबाट यस क्षेत्रका विद्यार्थी, शिक्षक, साहित्यकारलगायत उत्साहित बनेका छन् । “यो टीकापुरका लागि ऐतिहासिक कार्यक्रम हो, यसबाट सक्दो लाभ लिनुपर्छ”, स्थानीय समाजसेवी भुवनेश्वर अधिकारीले भने। तीन दिनसम्म चल्ने साहित्य महोत्सवमा देशका विभिन्न ठाउँबाट पत्रकार, कलाकार, साहित्यकार, राजनीतिज्ञलगायतको उपस्थिति रहने समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिए।