गण्डकी प्रदेश

छ वर्षपछि बडिगाड गाउँपालिकाको सेवा आफ्नै भवनबाट

२६चैत्र, गलकोट । बागलुङको बडिगाड गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । स्थापनाको छ वर्षपछि आफ्नै अत्याधुनिक सुविधायुक्त प्रशासनिक भवनबाट सेवा दिन थालेको बडिगाड गाउँपालिकाले जनाएको छ ।

भवन निर्माणपछि गाउँपालिकालाई हस्तान्तरण भएपछि यसै सातादेखि सेवा आफ्नै भवनबाट  सेवा प्रवाह सुरु गरिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए । भवन निर्माणका स्थानीयले ११ रोपनी जग्गामा निःशुल्क उपलब्ध गराएका थिए । 

बडिगाड गाउँपालिकाको केन्द्र खार बजारमा प्रशासनिक भवन निर्माण गरिएको हो । जिल्लाकै अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवनबाट सेवा दिने बडिगाड गाउँपालिका दोस्रो भएको छ । यसअघि ताराखोला गाउँपाकिलाले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माणपश्चात् सेवा सञ्चालन गरिसकेको छ । 

“हालसम्म भाडाको घरबाट सेवा दिँदै आएको गाउँपालिकाले अब भने आफ्नै भवनबाट सेवा दिन थालेको छ”, अध्यक्ष अधिकारीले भने , “विषयगत शाखा यसअघि छुट्टाछुट्टै घरमा हुँदा सेवाग्राहीलाई समस्या थियो, अहिले एउटै भवनबाट सबै सेवा दिन थालिएको छ ।”

कोरोनाका कारण सम्झौताभन्दा केही ढिला गरी भवन निर्माण सम्पन्न भएको छ । भवन अपाङ्गमैत्री, भूकम्प प्रतिरोधीलगायतका विशेषता छन् । तीन तले भवनबाट गाउँपालिकाका सम्पूर्ण सेवा प्रवाहका लागि सहज भएको गाउँपालिकाको भनाइ छ । 

भवन निर्माणका लागि रु पाँच करोड २२ लाखको लागतमा २०७७ जेठ १६ मा माउण्डेन कवीन्द्र जेभीसँग निर्माण सम्झौता भएको थियो । अठार महिनामा भवन निर्माण सम्पन्न गर्ने भनिए पनि  सम्झौताभन्दा एक वर्षपछि मात्रै निर्माण सकिएको माउण्डेन कविन्द्र जेभीका आधिकारिक प्रतिनिधि उपेन्द्र अर्यालले जानकारी दिए । 

दश स्थानीय तह रहेको बागलुङमा अहिले बडिगाड र ताराखोला गाउँपालिकाको मात्रै अत्याधुनिक प्रशासनिक भवन निर्माण गरेका छन् । यसअघि नै जिल्लाको तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाले प्रशासनिक भवन निर्माण गरेर सेवा थालेको भएपनि उक्त भवन बडिगाड र ताराखोला गाउँपालिकाको जस्तो सुविधा सम्पन्न भने छैन । 

अहिले गलकोट नगरपालिका र जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ भने काठेखोला गाउँपालिकाले जग्गाको टुङ्गो लगाउन सकेका छैनन् । ढोरपाटन नगरपालिकाको प्रशासनिक भगवन भने निर्माणको चरणमा रहेको छ ।