२२ बैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक शुक्रबार बस्दैछ ।
पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकमा सरकारमा सहभागी हुने या बाहिरिने भन्नेबारे छलफल हुने पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
रास्वपामा सरकारमा सहभागिताको विषयमा दुई धार रहेको छ । एक समूहले सरकारमा सहभागी हुनुपर्ने भन्दै लबिङ गरिरहेको छ भने अर्को पक्षलेचाहिँ सरकारलाई दिएको समर्थन फिर्ता लिएर जनतामा जानुपर्ने बताइरहेको छ ।
तर पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्रीसहित दलका नेताहरुसँग निरन्तर संवाद गर्दै आएका छन् । रविले आफूहरुको सर्त पालना हुनसक्ने अवस्थामा सरकारमा सहभागी हुने संकेत गर्दै आएका छन् ।
सत्ता गठबन्धनमा पनि रास्वपालाई सरकारमा सहभागी गराउनुपर्ने मत बलियो छ । जसअनुसार बुधबार बसेको सत्ता गठबन्धनको बैठकले रास्वपासँग वार्ता गर्ने जिम्मेवारी प्रधानमन्त्रीलाई दिएको थियो ।