समाचार

संघीय संसद्‌मा दुई सचिव नियुक्त

२२ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा दुई सचिव नियुक्त गरेका छन् ।

सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधिसभा सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रियसभा सचिवमा सुरेन्द्र अर्याललाई नियुक्त गरिएको हो ।

सभामुख र अध्यक्षको सिफारिस अनुसार राष्ट्रपति पौडेलले पाण्डेय र अर्याललाई नियुक्त गरेका हुन् । दुवैलाई नियुक्त गरेको पत्र राष्ट्रपति कार्यालयबाट संघीय संसद् सचिवालयलाई प्राप्त भएको संसद्का महासचिव भारतराज गौतमले जानकारी दिए ।

सचिवमा नियुक्त पाण्डेय र अर्यालको पद तथा गोपनियताको शपथ आइतबारका लागि तय भएको छ ।

पाण्डेय र अर्याललाई यही वैशाख १७ गते नियुक्ति सिफारिस गरिएको थियो । प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालको कार्यकाल वैशाख १५ मा सकिएको थियो । दुवैको कार्यकाल सकिएपछि सभामुख र अध्यक्षले नयाँ सचिव नियुक्ति लागि तत्कालीन कार्यवाहक राष्ट्रपति यादवसमक्ष सिफारिस गरेका थिए ।

सभामुखले प्रतिनिधिसभा सचिव र राष्ट्रिय सभा अध्यक्षले राष्ट्रिय सभा सचिव राष्ट्रपतिसमक्ष सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।