२४ बैसाख, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पुरानो उपकरण बनाएर प्रयोग गरेर मात्र नयाँ उपकरण किन्न निर्देशन दिएका छन्।
मन्त्रालयमा आज यहाँ कर्मचारीलाई निर्देशन दिँदै उनले पुराना उपकरण बनाएर मात्र नयाँ उपकरण किन्न निर्देशन दिए । “उपकरण खरिद गरिएर राखिएका मात्र छन् । प्रयोग गरिएका छैनन् । नयाँ उपकरण किन किन्नुप¥यो ?” उनले भने, “अहिले भएका पुराना उपकरण के कस्ता कहाँ रहेका छन् । तिनीहरू बनाएर प्रयोग नगरेसम्म खरिद प्रक्रियामा जानु हुँदैन ।”
उनले एक हप्ताभित्र पुराना उपकरणको अवस्थाबारे आफूलाई जानकारी गराउनसमेत निर्देशन दिए । उनले स्वास्थ्य मन्त्रालयल संवेदनशील भएकाले जभाभावी बिदामा पनि नबस्न कर्मचारीलाई निर्देशन दिए । मन्त्री बस्नेतले आफू सफल हुनु भनेको कर्मचारीले राम्रो काम गरेपछि हुने भन्दै कर्मचारीलाई दत्तचित्त भएर काम गर्न आग्रह गरे । “म सफल हुने भनेको तपाईंहरूले काम गरेर मात्र हुने हो”, उनले भने, “तपाईंहरूले आफ्नो कर्तव्य पालन भएर काम गर्नुपर्दछ । आन्तरिक काम तपाईंहरूले गर्ने हो । म टिमको नेतृत्व गरेर काम गर्दछु ।”
उनले कोरोना भाइरस र डेङ्गु सङ्क्रमण सावधानी अपनाएर रोकथाम र नियन्त्रण गर्न सकेको बताए । सरकारी अस्पतालजस्तो राम्रो उपचार निजी अस्पतालमा नहुने भन्दै सरकारी अस्पतालको गुणस्तरलाई अझ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
उनले चिकित्सको परामर्श शुल्क तोक्ने विषयमा मन्त्रालयको लगाम हुनुपर्ने बताए । “चिकित्सकको विशेषज्ञतालाई पनि ध्यान दिनुपर्दछ । चिकित्सक र बिरामीको मर्कालाई ध्यान दिनुप¥यो । यतिसम्म चिकित्सकको परामर्श शुल्क उचित हुन्छ भनेर सिलिङ तोक्ने स्वास्थ्य मन्त्रालयको लगाम हुनुपर्दछ”, मन्त्री बस्नेतले भने । उनले चिकित्सकले तोक्ने शुल्कको नियमन र अनुगमन गर्नुपर्ने भनाइ राखे । “एउटा चिकित्सकले एउटा बिरामी हेरेको एक हजार दुई सय लिन थालेको मैले सुनेको छु”, उनले भने, “त्यसको अनुगमन र नियमन कसले गर्ने हो ?”
कार्यक्रममा मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले मन्त्रालयका केही ऐनका दफा संशोधन गर्नुपर्ने बताए । उहाँले वीर अस्पतालमा अबदेखि शल्यक्रियाका लागि समय पर्खनु नपर्ने अवस्थाका लागि विज्ञापन गरिएको बताए ।