२७ बैशाख, काठमाडौँ । प्रतिनिधिसभा बैठक आज (बुधवार) पनि बस्दै छ । आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट)माथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेछन् ।
संसद् सचिवालयका अनुसार बिहान ११ बजेका लागि बैठक बोलाइएको बैठकमा अर्थमन्त्री डा. महतले प्रि–बजेटमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ ।
अर्थमन्त्री डा. महतले आइतबार बजेटका सिद्धान्त तथा प्राथमिकता प्रतिनिधिसभामा प्रस्तुत गरेका थिए । अर्थमन्त्री महतले राष्ट्रियसभामा सासदहरूले उठाएका सवालको जवाफ भने मंगलवार नै दिइसकेका छन् ।
प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ । बजेटको पूर्व सन्ध्यामा प्रि–बजेटमाथि सदनमा छलफल हुने गर्दछ ।