बाग्मती

वयस्क मनोरञ्जनको क्षेत्रमा कार्यरत श्रमिक बालबालिकासँग परामर्श कार्यशाला

२७ बैशाख, काठमाण्डौ । काठमाण्डौमा उपत्यकामा वयस्क मनोरञ्जनको क्षेत्रमा काम गर्ने श्रमिक बालबालिकासंग परामर्श कार्यशाला सम्पन्न भएको छ । परामर्श कार्यशालामा देशका विभिन्न जिल्लाबाट काठमाण्डौलाई कर्मथलो बनाई आफ्नो दैनिकी चलाउनका लागि वयस्क मनोरञ्जनको क्षेत्रमा काम गरिरहेका १८ जना बालबालिकाको सहभागिता रहेको थियो । आसमान नेपाल र विश्वास नेपालको संयुक्त आयोजनामा भएको उक्त कार्यशालाको सहजीकरण विश्वास नेपालका शान्ति दाहालले गरेकी थिईन् ।
कार्यशालामा सहभागिता बालिकाले वयस्क मनोरञ्जन क्षेत्रमा काम गर्दा भोगेका समस्या र ती समस्या समाधानका लागि आफ्ना सुझावहरु प्रस्तुत गरेका थिए । विविध कारणले गर्दा आफ्नो परिवारको जीविकोपार्जनका लागि अन्य ठाउँमा रोजगारीको अवसर नपाउँदा वयस्क मनोरञ्जन क्षेत्रमा काम गर्न बाध्य बालकालिकाले चरम मानसिक, शारीरिक पीडाका साथै आर्थीक शोषण तथा यौनदुव्र्यवहारको सामना गर्दे काम गर्नुपरेको धारणा राखेका छन् ।

सहभागिहरुले वयस्क मनोरञ्जनको क्षेत्रमा कामगर्ने कामदारलाइ सम्मानयुक्त काम गर्ने वाताबरण बनाउनु पर्ने र सो कालागि उक्त क्षेत्रमा काम गर्ने कामदार तथा बालबालिकाका सवाल अनिवार्य सुनवाइ गर्ने र सम्बोधन गर्ने प्रणालीको विकास गर्न माग गरेका थिए । त्यसकालागि बालबालिकाको क्षेत्रमा काम गर्ने संघ-सँस्थाहरुले समेत सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।


आफनो स्थापनाकालदेखि बालश्रम न्यूनिकरण र बालबालिकाको शिक्षामा काम गरिरहेकाे आसमान नेपालले बालश्रमलाई दिगो रुपमा उन्मुलन गर्नकालागि श्रममा भएका बालबालिकासँग परामर्श गरि उनीहरुका सवालहरुलाई नीति निर्माता समक्ष राखि श्रमिक बालबालिकाको सहभागिता सुनिश्चिताकालागि अभियान संचालन गरिरहेको छ । उक्त अभियानको नेतृत्वगरेका आसमान नेपालका कार्यक्रम व्यवस्थापक मणिराम आचार्यले बालश्रमसँग सम्बन्धीत ऐन, नियम, कार्ययोजना तथा कार्यविधिले बालश्रम उन्मुलनका महत्वपूर्ण सरोकारवाला बाल श्रमिकलाई लक्षित समुह मानेको तर बालश्रम उन्मुलनका लागि सरोकारवालाको रुपमा स्वीकार गरेको अवस्था नभएकोले उक्त अभियान संचालन गर्नु परेको बताए ।

त्यसै गरि हाल कार्यान्वयनमा रहेका नीतिहरुमा बालश्रमिकका सवाल तथा भोगाइहरुको सुनुवाइ गर्ने कुनै व्यवस्था नभएकोले बालश्रमिकका समस्या तथा भोगाइहरुको उठान गर्न कठिनाइ भइरहेको आसमान नेपालका एडभोकेसी अधिकृत गंगा सुवेदीले बताइन् ।
आसमान नेपालले बालबालीकासंग परामर्श भेला गरी उनीहरुबाट आएका विचार, भोगाइ र सिफारिसहरुलाई गैरसरकारी सँस्थाहरु समेत सहभागितामा नीति निर्माण तहमा रहेका स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार समक्ष बैठक, कार्यशाला तथा अन्तरक्रिया मार्फत ध्यानाकर्षण गराउँदै आएको छ । साथै आसमानले बालश्रम न्यूनीकरणगरि सवै बालबालिकालाई विद्यालयमा पहूँच बढाउन सबै बालबालिका पूर्ण समय औपचारिक दिवा स्कूलमा हुन पर्दछ भन्ने अभियान देश व्यापी रुपमा संचालन गरिरहेको छ ।