राजनीति

प्रचण्ड, देउवा र ओलीबीच सहमति : भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीलाई ‘डिस्टर्ब’ नगर्ने

२८ बैशाख, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीतिक सरगर्मी बढेको छ । त्यसैको एक अध्यायको रूपमा बुधवार सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरू बीच छलफल भयो । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा बुधबार छलफल भएको थियो ।

छलफल पछि प्रधानमन्त्री ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्व मुछिए पनि प्रहरी अनुसन्धानमा कुनै डिस्टर्ब नगर्ने सहमति भएको जानकारी दिए । ‘‘यो विषयमा प्रहरीले जसरी अनुसन्धान बढाएको छ, यसमा प्रहरीलाई कुनै डिस्टर्व गर्नु हुँदैन भन्नेमा हामी सबैको सहमति छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

शीर्ष तीन नेताको छलफलपछि प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँग मिडियामा प्रचार भए जसरी तीन जना नेताबीचको भेटमा दोषीलाई उम्काउने प्रयास नभएको दाबी गरे । ‘त्यस्तो होइन । हामीहरुको भेट बढी अहिले सदनलाई कसरी सुचारु गरेर लैजाने ? त्यहाँ समितिहरू कसरी बनाउने, संयुक्त समितिहरू कसरी बनाउने भन्ने विषयमा बढीजसो छलफल हुने गरेको हो । तपाईँहरूलाई लागेको छ, त्यही एउटै केसमा तर त्यो होइन’, प्रधानमन्त्रीले भने ।

भुटानी शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति नपाओस् भनेर प्रहरीलाई स्पष्ट निर्देशन दिएको उनले बताए । ‘हामीले क्लियर भाषामा भनेका छौँ, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, प्रहरीले आफ्नो काम ठिक ढङ्गले गरोस् भनेर स्ट्यान्डिङ अर्डर दिएकै छौ प्रहरीलाई’, प्रधानमन्त्रीले पत्रकारसँगको कुराकानीमा भने ।