समाचार

सबै बालबालिकालाई नियमित खोप लगाउन स्वास्थ्यमन्त्रीको आग्रह

३१ बैशाख, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बालबालिकालाई नियमित खोप लगाउन आग्रह गरेका छन् । एक भिडियो सन्देश जारी गर्दै उनले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर छुट खोप लगाउन अभिभावकलाई अनुरोध गरेका हुन् ।

मन्त्रालयले यही वैशाख ३१ गते पाँच वर्षमुनिका बालबालिकालाई नियमित खोप दिँदैछ । यसअघि वैशाख १५ गते नियमित खोप दिइएको थियो । छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन गरेको छ । ​

देशैभरका नियमित खोप चल्ने सरकारी स्वास्थ्य संस्थाबाट यसअघि १५ महिनाको उमेरसम्म दिइने नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउन उनको आग्रह छ ।

मन्त्रालयले कोही पनि बालबालिका नियमित खोपबाट नछुटून् भन्नका लागि पाँच वर्ष मुनिका बालबालिकालाई आइतबार १३ प्रकारका खोप दिँदैछ । रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्षसम्मका उमेरका बालबालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धको खोप प्रदान गरिन्छ ।

नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको तथ्यांक छ ।