३१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद सञ्जयकुमार गौतमले आमरण अनसन सुरू गरेका छन् । बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित गौतमले जब्दीघाटको भत्किएको पुल मुनि टेन्ट लगाएर १५ सूत्रीय माग राख्दै शनिबारबाट आमरण अनशन सुरु गरेका हुन् ।
आफूले प्रतिनिधिसभाको बैठकमै पटक–पटक जनताका माग राखेको भए पनि सरकारले नसुनेपछि बाध्य भएर आमरण अनसनमा बसेको उनको भनाइ छ । उनले संसद बैठकमै पनि आफूहरुका मागको सुनुवाइ नहुने हो भने शून्य समयको के अर्थ ? भन्दै प्रश्न गरेका छन् ।
उनले संसदमै बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण, भासिएको पुलको स्पान हटाउनु पर्ने, बबई नदी तटबन्ध र बबई सिंचाई आयोजनामा बजेट कटौतीले चुनौती थपिएको लगायतका माग राख्दै आएका थिए ।
पुल भासिएको ६ वर्ष बितिसक्दा पनि निर्माण गर्न सरकार पछि हटेको भन्दै पुल नहुँदा गुलरिया र बारबर्दिया नगरपालिकाका करिब एक लाख बासिन्दा प्रभावित भएको उनको भनाइ छ ।
पप्पु कन्स्ट्रसनले निर्माण गरेको पुल २०७९ साल असोज २० गते आएको बाढीले बगाएको थियो । पुल बगाएपछि पूर्व–पश्चिम राजमार्ग जोड्ने गुलरिया—रम्मापुर सडक खण्डमा सवारी साधन आउजाउ बन्द छ ।