राजनीति

दश वटा संसदीय समितिको बैठक बस्दै

२ जेठ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक बस्दैछन् । संसद सचिवालयका अनुसार सबै समितिका बैठक बिहान नौ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।

समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागत गर्ने, परिचय कार्यक्रम र कार्यक्षेत्रबारे जानकारी गराइने कार्यसूची तयार भएको छ । समिति सभापति चयन नभएको अवस्थामा बैठकको अध्यक्षता समितिका ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ ।

यसअघि सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान नौ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिएका थिए ।