७ जेठ, काठमाडौँ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आजबाट छलफल शुरु हुँदैछ । त्यसका लागि सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज बस्दैछ ।
संसद सचविालयका अनुसार प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा गत शुक्रवार सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले आ–आफ्नो धारणा राख्न कार्यसूची छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले आ–आफ्नो धारणा राखिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची तय भएको छ ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा टिप्पणी गर्ने भएका छन् । उनले आज बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने छन् ।
प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै विरोध जनाएका छन्।
ओलीले आफ्ना सांसदलाई नीति तथा कार्यक्रममा पार्टीका धारणा कडाइका साथ प्रस्तुत गर्न निर्देशन दिइसकेका छन् ।