खेलकुद

वडास्तरीय फुटबल : सेमिफाइनलका खेल आज

१० जेठ, गण्डकी । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा जारी वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलका खेल आजदेखि हुनेछन् ।

मङ्गलबार सम्पन्न खेलमा पोखरा–१५, पोखरा–३०, पोखरा–१४ र पोखरा–२७ वडाको टोली विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् । खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काका अनुसार वडा नं १५ ले वडा नं १३ लाई ४–१, वडा नं ३० ले वडा नं ८ लाई ३–२, वडा नं १४ ले वडा नं ३२ लाई २–० तथा वडा नं २७ ले वडा नं २४ लाई ४–३ गोलअन्तरले पराजित गरेका थिए ।

आज पहिलो सेमिफाइनल खेल वडा नं १५ र ३० बीच तथा दोस्रो सेमिफाइनल खेल वडा नं १४ र २७ बीच पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने छ । कास्की जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता छ ।

विजेताले रु एक लाख ५० तथा उपविजेताले रु एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने सदस्यसचिव खड्काले जानकारी दिए। यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु १५ हजार तथा उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । फाइनल खेल बिहीबार पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने आयोजकले जनाएको छ ।