नक्कली भुटानी शरणार्थी प्रकरणमा आज अभियोजन दर्ता हुँदैछ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अदालतमा अभियोजन दर्ता गर्ने गरी अन्तिम तयारी पूरा भएको जानकारी दिएको छ ।
संगठित ठगीका घटनामा ६० दिन भित्रमा अभियोजन गरिसक्नुपर्छ । आज नै ६० दिन पुग्दैछ । यस घटनामा एक सय १३ जना पीडितले रु २७ करोड ५० लाख बढी ठगी भएको भनी उजुरी दिएका छन् ।
सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि नेउपानेका अनुसार अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार पारेको छ ।
“बुधबार मुद्दा दर्ता गर्ने गरी अध्ययन गरिरहेका छौँ, प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुनसक्छ, अहिले अध्ययनकै चरणमा रहेकाले यही हुन्छ भन्ने अवस्था छैन” उनले भने ।
नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन् । अरु थप १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन प्रहरीले राय दिएको छ ।
प्रहरीका अनुसार ठगी, राज्य विरुद्धको अपराध र सङ्गठित ठगीमा मुद्दा चलाउन सकिने राय प्रहरीको छ । उक्त घटनामा थप अनुसन्धानको पाटो खुला नै रहेको पनि रिजालले बताउनुभयो । यस्तै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगमा पनि अनुसन्धान गर्न लेखी पठाउन राय दिइएको छ ।
शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेकपा (एमाले)का निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्वित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना फरार छन् ।