विचार/ब्लग

भुटानी शरणार्थी काण्ड, सुन काण्ड जस्तै सामसुम नहोस्, सम्पत्ति छानबिनका लागि जन दबाब आओस्

 बाबुराम आचार्य /नक्कली भुटानी शरणार्थी काण्ड पछिल्लो समय विश्वभर बस्नेत नेपालीहरूको लागि चिया गफ गर्ने विषय बनेको छ । नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी, नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य बालकृष्ण खाँण, पूर्व गृह सचिव टेकनारायण पाण्डेलगायत ३० जनाभन्दा बढीको नाममा प्रहरीले मुद्दा दर्ता गराई सकेको शरणार्थी काण्डमा रायमाझी र खाँणसहित १६ जना प्रहरी हिरासतमा छन् । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा, हिरासतमा रहेका बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल, काठमाडौँ महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यलगायत विशिष्ट अधिकारीहरूको नक्कली भुटानी शरणार्थीबाट प्रति व्यक्ति ५० लाख लिएर अमेरिका पठाउने कार्यमा संलग्न भई कमिसन लिएको आरोप जनतासम्म आइसकेको छ । 

पूर्व गृहमन्त्री भइसकेका काँग्रेस नेता बालकृष्ण खाँण, उपप्रधान एवम् मन्त्रीसन्त्री भइसकेका टोपबहादुर रायमाझी, सांसदसमेत रहेकी पूर्व-प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजू राणा (देउवा), सांसदसमेत रहेकी  मञ्जु खाँण, काँग्रेस नेतृ सुजता कोइरालाका स्वकीय सचिव भइसकेका केशव दुलाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका वर्तमान प्रमुख आयुक्त प्रेम कुमार राई, भुटानमा राजनीतिमा ख्याति कमाई नेपालमा आएर बसेको एक लाख भन्दा बढी भुटानी शरणार्थीका नेता बनिसकेका टेकनाथ रिजाल जस्ता विशिष्ट व्यक्तिहरूबाट नै बालुवाटार, सिंहदरबार, निवास वा होटेल ( होटेलमा गैर कानुनी तवरबाट करोडौँको लेनदेन कारोबार हुनुले नेपाली जनतामा राजनीतिप्रति निराशा छाएको छ । 

आफ्नो घरपरिवार चलाउन दैनिक दुई हजारको हाराहारीमा खाडीलगायतमा वैदेशिक रोजगारीमा गएर घरपरिवार धान्ने मात्र नभई देशको बजेटको २३ प्रतिशतको हाराहारीमा आर्थिक बोझ घटाएका प्रवासमा बस्ने नेपालीहरूको पसिना चुस्ने बिचौलियाहरू, देशमा शिक्षा र स्वास्थ्य जस्तो पवित्र क्षेत्रमा पैसा कमाउने स्थल बनाउने लगानी गरेर अर्बौँ रुपैयाँ शिक्षा र स्वास्थ्य क्षेत्रलाई गन्हाउने बनाउने माफियाहरू, भ्रष्ट कर्मचारीहरू, अर्बौँ कर छलेर राष्ट्रका ठुला सम्मानित बनेका ब्वाँसा व्यापारीहरू, राष्ट्रको कसम खाएर देश र जनतालाई धोका दिँदै पैसा, पद र विदेशीका लागि काम गर्ने जिम्मेवार व्यक्ति तथा संस्थाहरू, देशको दुर्दशा देखेर पनि चुप लागेर बस्ने सचेत सर्बसाधारणहरुलगायतलाई अब पनि चुप लागेर वकिल, इज्जीनियर, डाक्टर, पत्रकार, समाजसेवी, किसान, महिला, दलित, जनजाति, मुस्लिम, खस–आर्य तथा आम युवाहरूले नरोके देशको अवस्था कस्तो हुन्छ भन्न सकिने अवस्था रहन्न ।

नेपाल एउटा देश हो, प्रधानमन्त्री, गृहमन्त्री, राष्ट्रपति, स्थानीय सरकारका अधिकारीहरू देश र जनताका प्रतिनिधिहरू हुन् भन्ने कुरा किताबमा मात्र पढ्न पाइने जस्तो हुन थालेको देखिन्छ । भुटानी शरणार्थी काण्ड अमेरिकासँग प्रत्यक्ष जोडिएको कारण पनि अनुसन्धान नभई नहुने प्रकारको काण्डको रूपमा देखिएको छ तर कतिपय काण्डहरू होलान् जस्ता काण्ड विदेशीलाई कुनै सरोकार नै रहन्न त्यस्ता  काण्डहरूको न अनुसन्धान हुन्छ न कारबाही, ठुलालाई चैन र सानालाई ऐन भन्ने पुरानो उखान हो यो संस्कारकै रूपमा विकसित भएको भएको पुष्टि हुँदै छ । 

राज्यको कानुन उलङ्घन गर्ने जोकोहीलाई अनुसंधानको दायरामा ल्याउन छाड्नुहुन्न, त्यति हुँदाहुँदै निर्दोषलाई फसाउने वा राजनीतिक पूर्वाग्रहका आधारमा कसैको व्यक्तिगत जीवन समाप्त पार्ने कार्यमा लाग्नु पनि हुन्न । भुटानी शरणार्थी काण्डका आरोपीहरू लगभग सबैले घटनामा आफूहरूको संलग्नता नभएको दाबी गरेका छन् । डा. आरजु देउवाले आफ्नो एउटा मात्र छोरा जयवीर देउवाको कसम खाएर एउटा टेलिभिजनको अन्तरवार्तामा आफू उक्त शरणार्थीको कमिसन काण्डमा संलग्न नरहेको दाबी गरिसकेकी छन् । उनले उक्त कार्यक्रममा भुटानी शरणार्थी काण्डको छानबिन नेपालको शक्तिको भूमिका नरहेकोसमेत खुलस्त गरिसकेकी छन् । उच्च राजनीतिक नेतृत्वकी परिवार रहेकी डा देउवाको उक्त भनाई अर्थपूर्ण रहन्छ । विदेशी हस्तक्षेपले भुटानी शरणार्थी काण्ड छानबिन भइरहेको भन्ने प्रमाणित हुन्छ । 

पूर्व गृह सचिव सचिव पाण्डे, सानो भण्डारी, केशव दुलाललाई प्रहरीले लिएको बयानलाई मध्यनजर राख्ने हो भने भुटानी शरणार्थी काण्डमा धेरै नै उच्च नेतृत्वको संलग्नता रहेको र उनीहरू प्रहरीको फन्दामा पर्ने सम्भावना छ । उच्च नेतृत्वसमेत फस्ने सम्भावना रहेको हुँदा विगतको ३८ सय कुइटेल सुन काण्ड सामसुम भएजस्तै यो भुटानी शरणार्थी काण्ड पनि यसै गरी तै चुप मै चुप हुने सम्भावना रहेको देखिन्छ । नक्कली भुटानी शरणार्थी काण्डका दोषीमाथि निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीका लागि नागरिक समाज, मिडिया, स्वतन्त्र व्यक्तिहरू, सर्वसाधारण जनताको व्यापक दबाबको जरुरी छ । 

नागरिक समाजलगायत देशभक्त नागरिकले भुटानी शरणार्थी काण्डमा दबाब दिनुपर्ने त छँदैछ, यस काण्डबाट देशको अन्य ढुकुटीमा पनि धेरै नै अनियमितता भएको आशंसा गर्न सकिने प्रशस्त ठाउँ भएको हुँदा त्यसका लागि उच्च पदस्थ पूर्व तथा बताएमा अनि शङ्कास्पद नागरिकको सम्पत्ति छानबिन गर्नुपर्ने अनिवार्य आवश्यकता भइसकेको हुँदा त्यसका लागि दबाबसमेत अत्यन्त जरुरी भइसकेको छ । भुटानी शरणार्थी काण्डमा पत्रपत्रिकाले जसरी दैनिक रूपमा फलो अप समाचारमार्फत दबाब दिए त्यसै गरी राज्यका हरेक क्षेत्रमा उठेका प्रश्नहरू पत्रपत्रिकाले खोज पत्रकारितामार्फत उठान गर्नुपर्ने आवश्यकता देखिएको छ ।

शरणार्थी काण्डले देशमा हरेक क्षेत्रमा अनियमितता भएको पुष्टि भइरहेको छ । कस्ता मान्छेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाइँदो रहेछ, राज्यका कस्ता व्यक्तिहरू उच्च नेतृत्वमा जाँदा रहेछन् भनेर नेपाली जनताले आशंसा गर्न थालेका छन् । अख्तियारको प्रमुख विवादमा आउनु, पूर्व गृहमन्त्री र वर्तमान सचिव नै सानो कमिसनको लोभमा जोडिएर हिरासतमा बस्नु जस्ता काण्डले जनताले विश्वास गर्न योग्य मानिस नै नभएको हो कि भन्न थालेका छन् । भुटानी शरणार्थी काण्डले नेपालको अन्तर्राष्ट्रिय जगमा नै बेइज्जत हुने कार्य भएको हुँदा त्यसका दोषीहरूलाई कडा कारबाही गर्नुपर्ने त छंदैछ त्यसमा थप देशलाई हानी हुने खालका लाउडा, धमिजा, वाईडबडी, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, माओवादीका पूर्व लडाकुको रकम हिनामिना, कोरोना कालमा भएको स्वास्थ्य मन्त्रालयको कमिसनलगायत सबै प्रकारका उठे भ्रष्टाचार, अनियमितता, कमिसनका विषयहरूको तत्काल अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न अत्यन्तै जरुरी देखिएको छ । अख्तियारकै प्रमुख आयुक्तमाथि प्रश्न उठेको हुँदा र लगभग सबै काण्डहरू बिस्तारै सेलाउने देखिएको हुँदा भुटानी शरणार्थी काण्ड र सम्पत्ति छानबिनका लागि भने व्यापक जनदबाब आवश्यक देखिएको छ ।