१३ जेठ, काठमाडौँ । प्रतिनिधि सभाको बैठक दिउँसो ४ बजे बस्दैछ ।
सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् ।
शुक्रबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने कार्यसूची रहेको थियो । तर नेकपा एमालेको अवरोधले गर्दा त्यो सम्भव भएको थिएन ।
नीति कार्यक्रम पारित गर्ने तयारीमा रहेकोका बेला एमालेको अवरोधका कारण बैठक लम्बिएको हो ।
आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।
प्रधानमन्त्रीले जवाफ दिएपछि यही जेठ ५ गते संसदमा पेश भएको नीति तथा कार्यक्रम पारित हुनेछ ।
प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा गरेको अवरोधले सरकारका नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम प्रभावित भएसँगै प्रधानमन्त्री प्रचण्डले संसद बैठक बस्नुअघि एमालेसँग वार्ता गर्ने भएका छन् ।