समाचार

एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु …रेशम चौधरीलाई आममाफी

१४ जेठ, काठमाडौँ । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को वैठकले नेता चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् निर्णयबारे जानकारी दिँदै गणतन्त्र दिवसका अवसरमा नेता चौधरीको बाँकी सजाय मिनाहासँगै आममाफी दिन सिफारिस गरिएको बताए। “सोमबार गणतन्त्र दिवस छ, गणतन्त्र दिवसका सन्दर्भमा केही कैदीको बाँकी सजाय माफी गर्ने र ५० प्रतिशत सजाय काटिसकेकाको हकमा जुन निर्णय गर्ने प्रचलन छ, त्यसका निम्ति निर्णय भएको छ, मुख्य निर्णय रेशम चौधरीको निवेदनका आधारमा र राष्ट्रपति कार्यालयले सोधिएका केही विषयलाई पनि सम्बोधन गरेर राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने भन्ने आजको निर्णय छ”, उनले भने।

सरकारको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरेका खण्डमा नेता चौधरी सोमबार गणतन्त्र दिवसका अवसरमा जेलमुक्त हुनेछ । विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जेल चलान भएका थिए । उनलाई जिल्ला अदालत कैलाली, उच्च अदालत दिपायल र सर्वोच्च अदालत समेतले जन्मकैदको सजाय सुनाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको र सोमबारको मन्त्रिपरिषद्को वैठकले विषयवस्तु (एजेण्डा) को अन्तिम टुङ्गो लगाउनेछ । पत्रकारको एक प्रश्नमा प्रवक्ता शर्माले भने, “प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा को को जाने भन्ने अहिलेसम्म टुङ्गिएको छैन, भ्रमणका एजेण्डा मन्त्रालयहरुले तयारी गररहेका छन्, त्यो अन्तिम चरणमा पुगिसकेको छ । ऊर्जासँगै सीमा समस्याका कुरा पनि छन्, ती विषयमा छलफल भइरहेको छ, औपचारिक निर्णय भने भएको छैन ।