१५ जेठ, गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राष्ट्रको समृद्धिका लागि एकता, सहमति र सहकार्य आवश्यक भएको बताएका छन् ।
गणतन्त्र दिवस २०८० का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले गणतन्त्र घोषणा भएसँगै सुशासन, द्रुततर आर्थिक, सामाजिक विकासलगायत सबै क्षेत्रमा सुन्दर, समृद्ध र नयाँ हुन्छ भन्ने आम नेपालीको अपेक्षा एवं सहिदका सपना साकार पार्न एकता, सहमति र सहकार्य हुनु आवश्यक रहेको उल्लेख गरेका छन् ।
लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ अमूल्य जीवन बलिदान गर्नुहुने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले यस ऐतिहासिक दिवसले हामी सबैलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।
“व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता हो”, सन्देशमा भनिएको छ ।
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजवादोन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्र गणतन्त्रको वास्तविक कार्यभार भएको बताएका छन् ।
गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले जनताको जीवनमा सार्थक र सकारात्मक परिर्वतन ल्याई नेपाललाई सबल, आत्मनिर्भर साथै समाजवादोन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अघि बढाउनुपर्ने बताए।
लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्न हाम्रो संविधानले परिकल्पना गरेबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको सरकार रहेको उल्लेख गर्दै सन्देशमा हरेक तहका सरकारको जनताप्रति आ–आफ्नो उत्तरदायित्व रहेको भनिएको छ ।
“लोकतन्त्रले ल्याएको यो सुन्दर व्यवस्थालाई जनमैत्री र अझै मजबुत बनाउन गण्डकी प्रदेश सरकार दृढ सङ्कल्पका साथ अघि बढिरहेको छ”, मुख्यमन्त्रीले भनेका छन्, “यो संवैधानिक व्यवस्थाको अवधारणा संस्थागत गर्न सहयोग पुग्ने गरी प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रम, योजना र बजेट व्यवस्था गरेको छ ।”
संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सरसफाइ, खानेपानी, पर्यावरणलगायत आधारभूत अधिकारलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्न गणतन्त्र दिवसले हामी सबैलाई उत्साह प्रदान गर्ने मुख्यमन्त्रीले विश्वास व्यक्त गरेका छन् ।
सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताको बलमा मुलुकलाई सामाजिक, आर्थिक समृद्धिको दिशामा लैजानु आजको राष्ट्रिय आवश्यकता रहेको भन्दै सन्देशमा यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ ।