१५ जेठ, काठमाडौँ । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी छुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि रेशम जेलबाट मुक्त भएका हुन् ।
मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो ।
यसपटक चौधरीसहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् ।
२०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन झडपमा परिणत हुँदा एक नाबालकसहित ८ प्रहरीकाे ज्यान गएको थियो । रेशमलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले जेठ २ मा सदर गरेको थियो ।
घटनाको योजनाकारको आरोपमा उनी भूमिगत भएका थिए । २०७४ मंसिरमा भएको चुनावमा उनी भूमिगत अवस्थामै कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
चुनाव जितेपछि प्रमाणपत्र ग्रहण गर्न उनी आफैं आउनु पर्ने भयो ।
प्रमाणपत्र बुझ्न पाउनुपर्ने मागसहित उनले रिट हाले पनि सर्वोच्चले अस्वीकार गरेपछि १५ फागुन २०७४ मा उनले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।