समाचार

नक्कली शरणार्थी प्रकरण : १२ प्रतिवादीको बयान सकियो, टोपबहादुर र बालकृष्णको अझै बाँकी

१८ जेठ, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये थप चार जनाको बयान सकिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बुधबार प्रतिवादी गोविन्द चौधरी, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी र रामशरण केसीको बयान लिइएको हो ।

यसअघि इन्द्रजित राई, सन्देश शर्मा, नरेन्द्र केसी, केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टङ्ककुमार गुरुङको बयान भइसकेको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रतिवादीको बयान जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको छ ।

अहिलेसम्म १२ प्रतिवादीको बयान लिइसकिएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १७ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार यो प्रकरणमा १३ जना अझै फरार छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३३ जनाविरुद्ध २७ करोड ५० लाख ५७ हजार बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ ।