१९ जेठ, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ प्रतिवादीले बयान सकिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर मियाँको बयान बिहीबार सकिएको हो ।
बिहीबार उनीहरूको बयान सकिएसँगै उक्त प्रकरणका आरोपितमध्ये १५ प्रतिवादीले बयान सकिएको हो ।
यसअघि गोविन्द चौधरी, निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, रामशरण केसी, इन्द्रजित राई, सन्देश शर्मा, नरेन्द्र केसी, केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टङ्ककुमार गुरुङको बयान भइसकेको छ ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब तीन जनाको मात्रै बयान लिन बाँकी छ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान लिन बाँकी छ ।
उनीहरुको बयान शुक्रबार हुनेछ । नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो ।
उक्त प्रकरणका आरोपितमध्ये १७ जना पक्राउ परेका छन् भने १३ अझै फरार छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३३ जनाविरुद्ध २७ करोड ५० लाख ५७ हजार बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ ।