समाचार

पाल्पा जीप दुर्घटना : मृतकको संख्या ४ पुग्यो, ६ जनाको अवस्था गम्भीर

२२ जेठ, काठमाडौँ । पाल्पामा आइतबार साँझ भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जीप पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी मृत्यु हुने सबै अर्घाखाँचीका रहेको प्रहरीले जनाएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी गाउँपालिका–२, पोखराथोककी २५ वर्षीया सीता गौतम र पोखराथोककै दुई वर्षीय संयोग गौतम रहेको जिल्ला प्रहरी प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

परियार, विक र गौतमको घटनास्थलमै मृत्यु भएको हो । दुई वर्षीय संयोगको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते पाँच जनाको लुम्बिनी प्रादेशिक अस्पताल, दुई जनाको चौराहा अस्पताल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमा अधिकांश बालबालिका रहेका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त जीप सडकदेखि करिब ७० मिटर तल खसेको छ ।