२२ जेठ, काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दैछ ।
प्रतिनिधिसभा बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । तर विपक्षी दलहरूले आज पनि संसद् अवरूद्ध गर्ने जनाएका छन् ।
आइतबार दुवै सदनको बैठक सुरु हुनेबित्तिकै एमालेलगायत प्रतिपक्षी दलहरूले विरोध गर्दै बैठक अवरुद्ध पारेका थिए ।
विपक्षी दलहरूले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित गरेका थिए । दलहरूबीच सहमति हुन नसकेपछि आइतबार बैठक बस्न सकेन ।
विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयलाई लिएर संसदमा विरोध गरेका थिए ।
दुवै सदनमा गत १५ गते अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने तयारी गरिएको छ । प्रतिपक्षी दलहरूकाे विरोधले बजेटमाथि छलफल अगाडि बढ्न सकेको छैन ।