समाचार

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, निर्वाचन कार्यालय खारेजीलगायतका विषयमा छलफल हुने

२६ जेठ, काठमाडौँ । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ। बैठकमा निर्वाचन कार्यालय खारेजीलगायतका विषयमा छलफल हुनेछ ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार बिहान साढे ११ बजे बस्ने बैठकमा राजनीतिक दलहरूलाई बोलाइएको छ । राजनीतिक दलहरूसँगको बैठकमा पाँच विषयमा छलफल हुने उनले जानकारी दिए ।

सरकारले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहतमा लैजाने नीति लिएको छ ।

सरकारको यो निर्णमा आयोगले आपत्ति जनाउँदै आएको छ । आयोगले केही दिन अगाडि प्रेस विज्ञप्ति नै जारी गरेर सञ्चालनमा रहेका संरचनाहरूको खारेजी गर्ने निर्णयले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र समक्षतामा गम्भीर प्रश्न उठ्न सक्ने अवस्था भएको बताएको थियो।

निर्वाचन कार्यालय खारेजी, निर्वाचन कानुनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन, राजनीतिक दलहरूको लेखा तथा लेखापरीक्षणलगायतका विषयमा दलहरूसँग छलफल हुने आयोगले जनाएको छ।