२७ जेठ, काठमाडौं । नेपालमा बालअधिकार सम्बन्धी बालबालिका आफैले तयार गरेको प्रतिवेदन संयुक्त राष्टसंघको बालअधिकार समितिमा पठाउने प्रकृया सुरु भएको छ ।
नेपालमा कन्सोर्टियम नेपालको सहजिकरण, बालबालिकाको नेतृत्व र सि आर सि रिपोर्टिङ कोलियसन नेपालको समन्वयमा बाल अधिकारसम्बन्धी महासन्धीको बाल अधिकार समितिमा प्रतिवेदन पठाउने प्रकृया सुरु भएको हो । बालबालिकाको नेतृत्वमा तयार गरेको प्रतिवेदन बालबालिकाले नै काठमाण्डौमा एक कार्यक्रम गरि सि आर सि रिपोर्टिङ कोलियसन नेपाललाई हस्तान्तरण गरेको हो ।
अब बालबालिकाले तयार गरेको प्रतिवेदन सि आर सि कोलियसन मार्फत संयुक्त राष्ट्रसंघको बालअधिकार समितिमा बुझाईनेछ ।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रतिनिधि, गैर सरकारी संस्था महासंघका अध्यक्ष, सरोकारवाला सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरु, बालअधिकारकर्मीहरु तथा बालबालिकाका प्रतिनिधि समेतको उपस्थितिमा सो प्रतिवेदन हस्तान्तरण गरिएको हो ।
प्रतिवेदन तयार गर्ने क्रममा देशभरीबाट स्थानीय र प्रदेश तहमा बालबालिकाको सुझाव संकलन गरिएका थियो ।
यसैगरि प्रतिवेदन तयारिका क्रममा बालश्रम लगायत बालबालिकाका विभिन्न क्षेत्रगत कार्यशाला समेत आयोजना गरि बालबालिकाका सुझावहरु संकलन गरिएको थियो । प्रतिवेदनमा १६३ प्रत्यक्ष र ५०० भन्दा बढि अप्रत्यक्ष रुपमा सहभागि बालबालिकाको भावना समेटिएको बताइएको छ । देशका विभिन्न स्थानीय तह तथा सातै प्रदेशमा प्रदेश स्तरमा आयोजना गरिएका बालबालिकाको परामर्शबाट प्राप्त सुझावहरुलाई समावेश गरि राष्ट्रिय कार्यशालाको आयोजना गरि बालबालिकाका प्रतिनिधीहरु माझ विस्तृत छलफल गरी अन्तिम प्रतिवेदन तयार गरिएको हो । राष्ट्रिय कार्यशालामा ७ वटै प्रदेशका बालबालिका, प्रनितिधि सभाका सम्माननीय सभामुख, नेपाल सरकारका प्रतिनिधी, बालअधिकार संस्थाहरु लगायतको सहभागिता रहेको थियो ।
सन् १९८९ मा संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको बालअधिकार सम्बन्धी महासन्धीेलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको हो । महासन्धीमा भएको प्रावधान अनुसार नेपालले महासन्धी अनुमोदन गरेको दुई वर्षभित्र पहिलो प्रतिवेदन र त्यसपछि प्रत्येक पाँच पाँच वर्षमा संयुक्त राष्ट्र संघ, बालअधिकार समितिमा प्रतिवेदन पनि पठाउनु पर्दछ ।
सरकारको प्रतिवेदन सँगसँगै राष्ट्रिय मानव अधिकार आयोग, युनिसेफ, बालअधिकारका सवालमा काम गर्ने संघसंस्था र व्यक्तिले समेत प्रतिवेदन तयार गरी बुझाउने प्रावधान छ ।
नेपालमा दोस्रो पटक यस प्रतिवेदन बालबालिकाकै नेतृत्वमा तयारी गर्ने कार्य कन्सोर्टियम नेपालको संयोजनमा भएको हो । नेपालका लागि यो प्रतिवेदन बालअधिकारको अभियानमा एउटा महत्वपुर्ण इतिहास रहेको छ । यसले नेपालका बालबालिकापनि आफ्ना आवाज अन्तर्राष्ट्रिय स्तरमा उठाउन सक्षम छन् भन्ने प्रमाणित भएको बालबालिका लेखन समुह सदस्य प्रेक्षा अधिकारीले जानकारी गराए ।