समाचार

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य, डिस्चार्ज गर्ने तयारी

३१ जेठ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य बनेसँगै उनलाई आजै डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

मुटुमा समस्या देखा परेपछि मंगलबार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन ।

अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई २४ घण्टासम्म चिकित्सकको निगरानीमा राखिएको थियो ।

यसअघि राष्ट्रपति पौडेलको गत वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गरिएको थियो । उनी उपचारपछि वैशाख १७ गते स्वदेश फर्किएका थिए ।