४ असार, काठमाडौं । किसानले प्रतिकिलो ६ रुपैयाँभन्दा पाउने गोलभेंडालाई उपभोक्ताले ४० रुपैयाँ तिरेर किनिरहेका छन् । यो अस्वाभाविक अवस्थाप्रति विरोध जनाउन आइतबार किसानले हजारौं किलो गोलभेंडा काडमाडौंको सडकमा फालेका छन् ।
काठमाडौंको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारअगाडि सडकमा आइतबार झन्डै ३९ हजार किलो गोलभेंडा फालिएको थियो । फ्याँकिएको गोलभेंडा हटाउन जेसीबी प्रयोग गर्नुपरेको थियो । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार आइतबार गोलभेंडाको थोक मूल्य ६ रुपैयाँ प्रतिकिलो थियो ।
एक महिनाअघि प्रतिकिलो ४० देखि ५० रुपैयाँमा बिक्री भएको गोलभेंडा आइतबार ६ रुपैयाँमा पनि बिक्री नभएको कालीमाटीका व्यापारीको गुनासो छ ।
गोलभेंडाको उचित मूल्य नपाएको भन्दै व्यापारीले नागार्जुन, काभ्रे, काठमाडौं उपत्यकाका किसानलाई बोलाएर गोलभेंडा सडकमा फालेका हुन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।