५ असार, काठमाडौं । अविरल वर्षासँगैको बाढी–पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ ।
ताप्लेजुङमा तीन, सङ्खुवासभा, पाँचथर र नुवाकोटमा एक/एक जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा पाँच पुरुष र एक जना बालिका रहेका छन् ।
साथै बाढी एवं पहिराेमा परी सङ्खुवासभामा तीन, ताप्लेजुङमा दुई र पाँचथरमा एक गरी जम्मा ६ जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बाढी पहिरोमा परी सङ्खुवासभामा २१, ताप्लेजुङमा तीन र पाँचथरमा पाँचजना गरी जम्मा २९ जना अझै बेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बाढी एवं पहिरोका कारण ३५ घर, १० गोठ, १३ पुल, पाँच उद्योग र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६७ वटा पशुचौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ९७ घरपरिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिराेको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिराेमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नाका साथै विभिन्न स्थानमा भएको बाटो अवरोधसमेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।
कोशी प्रदेशको राहत
कोशी प्रदेश सरकारले बाढी–पहिरो पीडिललाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा हालै आएको बाढी पहिरामा परी मृत्यु हुनेका परिवारलाई रु एक लाख र घाइतेलाई उपचारका लागि रु ५० हजार राहतस्वरूप दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।