८ असार, काठमाडौं । गोरखामा विवाहका लागि टिकाटालो गरेर फर्किँदै गरेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
गोरखाको शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किँदै गरेको जिप गएराति दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीले पाँच जनाको मृत्यु भएको भनेर पुष्टि गरेको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उक्त जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनास्थलमा खोज तथा उद्धार जारी छ ।
उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद व्यवस्थापन समितिको टोली खटिएका छन् । तर कच्ची बाटो, भिरालो स्थान र रातभर पानी परेकाले उद्धारमा कठिनाइ भएको छ ।