पत्रपत्रिका

२ महिनादेखि टीआरसी विधेयक अलपत्र

१२ असार, काठमाडौं । संक्रमणकालीन न्याय प्रक्रियालाई चाँडो टुंग्याउन सरकारले ल्याएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) तेस्रो संशोधन विधेयक–२०७९ अलपत्र छ ।

प्रतिनिधि सभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिमा छलफलका लागि पुगेको उक्त विधेयक तोकिएको समयमा प्रतिवेदन नबुझाउँदा अलपत्र परेको हो ।

अन्तर्राष्ट्रिय स्तरमासमेत चासो रहेको यो विधेयक फास्ट ट्रयाकका रूपमा पारित गर्ने भनिएको भनिए पनि समितिमा पुगेको २ महिनासम्म अघि बढ्न सकेको छैन । सरकारले गत ४ मंसिरको आमनिर्वाचनअघि नै उक्त विधेयक संसद्बाट पारित गराउन खोजेको थियो ।

दलहरूले सहमतिअनुसार नै उक्त विधेयक समितिमा पुगेको भए पनि पछिल्लो समय यस विषयमा सत्ता पक्ष र प्रतिपक्षी दलहरूबीच एक ठाउँमा बसेर छलफल गर्न सक्ने वातावरण नबन्दा सो विषयले प्राथमिकता पाउन नसकेको सांसदहरूले बताएका छन् ।

निर्वाचनपछि आएको नयाँ सरकारले पनि विधेयकलाई समितिमा नपठाई पारित गराउने प्रयास गरे पनि दलहरूका बीचमा फरक–फरक मत आइरहँदा यो विधेयक रोकिएर बसेको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।