पत्रपत्रिका

प्रधानमन्त्रीका निजी सचिवलाई राजस्व अनुसन्धानको जिम्मा

१३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयमा कार्यरत सहसचिव नवराज ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाइएको छ ।

राजस्व अनुसन्धान विभागमा छोटो छोटो समयमा नेतृत्व परिवर्तन हुँदा विभागले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । जसका कारण राजस्व छली जस्तो संवेदनशील विषयमा मुद्दा दायर हुने क्रम अवरुद्धजस्तै बनेको छ ।

अस्थिरता र राजनीतिक हस्तक्षेपको शिकार बन्दै आइरहेको विभागले पछिल्ला दिनमा राजस्व छली गर्नेहरूविरुद्ध मुद्दा दायर गर्ने क्रमलाई तदारुकता दिन सकेको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलवार राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटालाई प्रधानमन्त्री कार्यालयमा तानेर उनको ठाउँमा प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयमा रहेका सहसचिव नवराज ढुंगानालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो ।

सापकोटा पाँच महिनाअघि मात्रै विभागको महानिर्देशकको रूपमा गएका थिए । विभागमा ढेड वर्षको अवधिमा ७ जना महानिर्देशक परिवर्तन भइसकेका छन् । जसका कारण विभागले राजस्व छली सम्बन्धमा महत्वपूर्ण अनुसन्धान गरी मुद्दा दायर गर्ने काम पूर्ण रूपमा प्रभावित हुँदै आएको छ ।

राजस्व अनुसन्धान विभागको महानिर्देशक बनेका ढुंगाना यसअघि भन्सार विभागमा रहँदा विवादित बनेका थिए । नेपाल समाचारपत्रमा समाचार छ ।