पत्रपत्रिका

टहराको छैन भर, फेरि पहिरोको डर

१४ असार, सिन्धुपाल्चोक । २०७८ असार १ गतेदेखि निरन्तर आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२, गणेशबगर क्षेत्रमा मात्र लगभग ३५ घर बगायो ।

त्यस क्षेत्रका स्थानीय कतिपयको घर पूरै भासियो त कतिपयको फेरि प्रयोग गर्न नसकिने गरी भत्किए । गणेशबगरका स्थानीय लीलाबहादुर ज्योतिले चार वर्षअघि १७ लाख रुपियाँमा किनेको जग्गामा घर बनाएका थिए । घर बनाएको वर्षदिनमै घरजग्गा बाढीले बगायो । उनले भने, “घर बन्नासाथ छोराको विवाह गरिएको थियो ।

त्यही घर बाढीले भत्कायो । त्यसपछि एक वर्षका लागि भनेर अस्थायी बसोबास बनाइएको थियो । एक वर्ष त के तीन वर्ष भयो स्थायी बसोबासको कुनै वातावरण बनेको छैन ।” उनका श्रीमती, छोरा–बुहारी गरी चार जनाको परिवार छ । त्यहीँका स्थानीय ३५ वर्षीय कामी तामाङका श्रीमती र चार सन्तान गरी छ जनाको परिवार छ ।

फेरि वर्षात सुरु भएको छ । तर तत्काल बनाएको अस्थायी टहरा पनि उहाँको परिवारका लागि सुरक्षित छैन । उनले भने, “बालबच्चा छन्, बस्ने ठाउँ राम्रो सुरक्षित छैन । गर्मीमा धेरै गर्मी, जाडोमा धेरै जाडो हुन्छ । अस्थायी टहरा दिइएको छ । फेरि बर्खा लाग्दैछ, बाढी, पहिरो आउने डर छ ।” गोरखापत्र दैनिकमा समाचार छ ।