समाचार

चिडियाखानाका जनावरको आकृति काष्ठकलामा

काठमाडौँ, १८ असार । जावलाखेलस्थित सदर चिडियाखानामा रहेका जनावरको आकृति काष्ठकलामा उतारिएको छ ।

चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले कछुवा, हात्तीको टाउको, गोही, लाटोकोसेरो र चिलको चित्र काठमा उतारिएको जानकारी दिए । उनका अनुसार चिडियाखानाभित्र नै रहेका काठबाट जनावरहरूको चित्र बनाइएको हो । कलाकारले बनाइसकेपछि उक्त काठका आकृतिलार्ई सर्वसाधारणका लागि प्रदर्शनमा राख्ने तयारी रहेको कोइरालाले बताए ।

काठबाट निर्माण गरिएको हुनाले यसका लागि घामपानीबाट बचाउन सकिने स्थान आवश्यक पर्ने हुँदा सोहीअनुसार प्रदर्शनका लागि राखिने छ । काठबाट निर्माण गरिएका यी सामग्रीका कारण अवलोकनमा आउने विद्यार्थीका लागि पनि सहयोग पुग्ने विश्वास चिडियाखानाले लिएको छ ।

कोरोनाले गर्दा तीन वर्षसम्म आर्थिक समस्या झेलरिहेको चिडियाखानामा पछिल्लो समय दैनिक तीन हजार अवलोकनकर्ता आउने गरेका छन् । उनका अनुसार अवलोकनकर्ता बढेकै कारण विगत वर्षमा भन्दा यस वर्ष आम्दानीको लक्ष्यसमेत बढाइएको छ । विगतका वर्षमा वार्षिक रु १४ देखि रु १६ करोड आम्दानी गर्दै आएको चिडियाखानाले यस वर्ष रु २० करोड आम्दानी गर्ने लक्ष्य लिएको छ । हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीवजनावर रहेका छन् ।