आर्थिक

बजेटका सम्बन्धमा उठेका प्रश्नमा सम्बन्धित मन्त्रीको जवाफ

गण्डकी, १९ असार । गण्डकी प्रदेशसभाको आजको बैठकमा आव ०८०/८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुभएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्न र सुझावलाई मार्गदर्शनका रुपमा ग्रहण गरी कार्यान्वयन गरिने बताए । उनले पर्यटन प्रवद्र्धन, औद्योगिक विकास र रोजगार सिर्जनामा बजेट केन्द्रित गरिएको उल्लेख गरे । स्रोतसाधनको सीमितताबीच उद्योग र पर्यटनका क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न नसकिएको मन्त्री थापाले स्पष्ट पारे ।

पर्यटकीय गन्तव्यको विकास र नयाँ पदमार्ग पहिचानमा बजेट छुट्याइएको र देशकै प्रमुख पर्यटकीय गन्तव्य फेवातालको सुन्दरतादेखि घरबास पर्यटनको प्रवद्र्धनसम्मलाई बजेट तथा कार्यक्रममा समेटिएको उनको भनाइ थियो ।

आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले प्रदेश सरकारले वस्तुगत र कार्यान्वयनयोग्य बजेट ल्याएको बताए । उनले हचुवाका भरमा नभई प्रतिफल दिने क्षेत्रमा मात्र बजेट विनियोजन गरिएको उल्लेख गरे । वितरणमुखी बजेटको परम्परालाई अन्त्य गर्न यसै वर्षदेखि सक्दो प्रयास थालिएको मन्त्री आले मगरको भनाइ थियो ।

ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले ‘उज्यालो गण्डकी प्रदेश’ घोषणालगायत दूरगामी महत्वका कार्यक्रम बजेटमा परेको बताए । उनले न्यूनतम रु १० लाखसम्मका योजनामात्र बजेटमा समावेश गरिएको उल्लेख गरे । आवश्यकता पहिचान गरेर मात्र ऊर्जा, खानेपानी र सिँचाइका आयोजना छनोट गरिएको मन्त्री तिवारीले उल्लेख गरे ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले विकासलाई गाउँसँग जोड्ने गरी बजेट विनियोजन गरिएको बताए । उनले पूर्वाधार आयोजनातर्फ बजेट तथा कार्यक्रमको बाँडफाँटमा कसैको पनि दबाब नआएको प्रस्ट पारे । मन्त्री जुग्जालीले जनसङ्ख्याका आधारमा दोस्रो ठूलो जिल्ला भएर पनि नवलपुरमा तुलनात्मकरुपमा कम योजना परेको स्वीकार गर्दै कसैको प्रभाव र दबाबमा नपरी आवश्यकता र मागका आधारमा बजेट विनियोजन गरिएको बताए ।

बजेटमाथि मन्त्रालयगत छलफल सकिएपछि सम्बन्धित मन्त्रालयका बारेमा उठेका प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिएका थिए । विनियोजन विधियेकमाथिको छलफल र जवाफको क्रम सकिएपछि बजेट पासको प्रक्रिया अगाडि बढ्नेछ । प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।