अन्तर्राष्ट्रिय

सिचुआनमा भारी वर्षाका कारण ४ लाख ६० हजारभन्दा बढी प्रभावित

एजेन्सी । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण ४ लाख ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले मङ्गलबार जनाए अनुसार सो प्रान्तका ८५ हजारभन्दा बढी स्थानीय बासिन्दाहरूलाई सावधानीका रूपमा सुरक्षित स्थानमा सारिएको छ ।

भारी वर्षाको समयमा जनताको जीवन रक्षा गर्न प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले सामाजिक सञ्जाल प्लेटफर्म र आफ्नो वेबसाइट मार्फत जनतालाई पूर्व चेतावनी पठाएको छ। साथै गस्ती कार्य र वास्तविक-समय वर्षाको अनुगमनलाई पनि चुस्त बनाएको बताइएको छ ।

यसअघि सिचुआनले २६ वटा काउन्टी-स्तर क्षेत्रहरू समावेश गर्दै बाढीको उच्च जोखिम रहेको भन्दै पहेंलो चेतावनी जारी गरेको छ । साथै चीनले भूवैज्ञानिक प्रकोपहरू जनाकारी सम्प्रेषण गर्न चार किसिमका रङ्ग-कोड गरिएको मौसम चेतावनी प्रणाली विकास गरेको छ ।

सो प्रणाली अन्तर्गत रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्छ भने त्यसपछि सुन्तला, पहेंलो र नीलो रङ्गले क्रमशः कम खतराको प्रतिनिधित्व गर्छ ।