अन्तर्राष्ट्रिय

टर्किए-इजिप्टद्वारा कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्न राजदूत नियुक्त

एजेन्सी । तुर्किए र इजिप्टले सामान्य कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न राजदूत नियुक्त गरेका छन् । टर्किएले काइरोमा सालिह मुटलु सेनलाई राजदूत नियुक्त गरेको छ भने इजिप्टले अङ्कारामा अम्र इल्हामामीलाई नियुक्त गरेको छ ।

दुई देशका विदेश मन्त्रालयहरूले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गर्दै सो बारे जनाकारी दिएका छन् । यो कदमले दुई देश बीचको सम्बन्धलाई सामान्य बनाउँदै जनताको हितमा थप सुमधुर बनाउँदै अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई सन् २०१३ जुलाईमा अपदस्थ गरेर उनको टर्किए समर्थित मुस्लिम ब्रदरहुड समूहलाई गैरकानूनी घोषित गरेपछि इजिप्टसँग टर्कीको सम्बन्धमा चिसोपन आएको थियो ।

गत मे २९ मा इजिप्टका राष्ट्रपति अब्देल-फताह अल-सिसी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीचको कूटनीतिक सम्बन्धलाई पुनः स्थापना गर्ने सहमति भएको थियो ।