२३ असार, काठमाडौँ । भनिन्छ, चाहनालाई अभाव र परिधिभित्र सीमित गर्न सकिँदैन । अठोटका साथ लम्किएका पाइला र त्यसप्रतिको आफ्नै विश्वास सफलताको कारक हो । आफूभित्र रहेको इच्छालाई मेहनतबाट प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, तारा तिवारी । उनीसँग समय अभाव हुँदा पनि गायक बन्ने चाहनाले छोडेको छैन ।
आफ्नो चाहनालाई सपनाको रुपमा लिएर निरन्तर अघि बढेका तिवारी यतिबेला ‘मेरो भ्वाइस युनिभर्स’मा प्रतियोगीका रूपमा उत्कृष्ट दशभित्र प्रतिस्पर्धामा छन् । नेपाली गीतसङ्गीतलाई सपना बनाएका तिवारीको प्रवासमा होस् या नेपालमा एउटै उद्देश्य थियो, गीतसङ्गीत । त्यहीँ सपना पूरा गर्ने उद्देश्यले उनी नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘मेरो भ्वाइस युनिभर्स’ कार्यक्रममा प्रतियोगी बनेका हो । पूर्वी नेपालको शरणार्थी शिविर हुँदै अमेरिका पुग्नुभएका तिवारीले विदेशमा रहँदा पनि नेपाली कला र संस्कृतिलाई छोड्नु भएन् ।
“हाम्रा अग्रज शिविर बाहिर निस्किएर काम गर्न थाले। शिक्षा, सङ्गीतलगायत विविध कामले हामीलाई हेर्ने मानसिकता र गरिने व्यवहारमा परिवर्तन भयो । त्यसकै कारण मेरो पुस्तालाई सहज बनाएको छ”, तिवारीले भने, “शरणार्थी शिविरमा हुर्किए, आफ्नो इच्छा नभए पनि अमेरिका पुनर्वास हुनुपर्यो । यसपटक भने सपना साकार पार्ने उद्देश्य बोकेर नेपाल आएको छु ।”
अभाव र परिधिमा रहेर जीवन चलाइरहेका तिवारीले अहिले सपनाको उडान भरिरह]को छ । नेपाल आएपछि अधिकामंश समय सङ्गीतलाई दिने गरेको बताउँदै उनले सङ्गीतले आफ्नो छुट्टै चिनारी दिलाएको उल्लेख गरे। गीतसङ्गीतसँगै पहिचान स्थापित होस् भन्ने चाहना रहेको उनको भनाइ थियो । तिवारीले आफ्नो आवाजमा केही गीत र भिडियोसमेत सार्वजनिक गरिसकेका छन् ।
काठमाडौँबाट अडिसन दिएर उत्कृष्ट दशमा पर्नुभएकी मुना ठटालको बाल्यकाल साङ्गीतिक माहोलमा बित्यो । मामाघरमा हुँदा उनले सुन्नु र बुझ्नु भएको गीतसङ्गीतका कारण उनलाई गायन विधामा लाग्ने प्रेरणा मिलेको हो । उहाँले पनि केही गीतसङ्गीतलाई आफ्नो आवाजमा सार्वजनिक गरिसकेका छन् ।
“गीतसङ्गीतमा केही गरौँ र भविष्य स्थापित होस् भनेर यो प्रतियोगितामा सहभागी भएको हुँ । यसले दिएको पहिचानले आउँदो समयमा मेरो यात्रा सहज हुने छ”, प्रतियोगी ठटालले भने, “सबैको सपना पूरा होस् । यहाँ हामी प्रतियोगीका रुपमा सहभागी भए पनि एउटा परिवार जस्तो बनिसकेका छौँ ।” प्रतियोगिताबाट निस्किएपछि पनि निरत्नतर गीतसङ्गीतमा लाग्ने योजना रहेको उनको भनाइ थियो ।
भारतको दार्जिलिङबाट नै प्रतियोगितामा अडिसनमार्फत सहभागी हुनुभएका साइराज खाती नेपाल आएर पनि अडिसन दिने तयारीमा थिए। दार्जिलिङमा रहँदा हिन्दी भाषाको गीत गाउँदा उनलाई सधै नेपाली भाषामा गीत गाउन र लेख्न रहर थियो । सोही रहर ‘मेरो भ्वाइस युनिभर्स’ ले पूरा गरेको प्रतियोगी खातीले बताए। “पहिला पनि नेपाली गीतसङ्गीतले नेपाल ल्याएको थियो । नेपाल बाहिर रहे पनि यहाँको मायाले हामीलाई बारम्बार यहाँ ल्याउँछ”, उनले भने, “नेपाली गीतसङ्गीतमा आफ्नो स्थान बनाउन सकियो भने जीवनको उपलब्धि अरू केही हुँदैन । यसको एउटा खुड्किलो यही प्रतियोगिता पनि हो ।” उनले नेपालमा आएर गीतिसङ्ग्रहका साथै केही गीत सार्वजनिक गरिसकेका थिए ।
दार्जिलिङबाटै प्रतियोगितामा सहभागी भए , स्माइल दास । उनी दोस्रोपटक अहिले प्रतियोगी बनेर नेपाल आएका छन् । यसअघि उहाँले ‘दार्जिलिङ आइडल’ को उपाधि पाउनाका साथै अन्य केही प्रतियोगितामा सहभागी भइसकेका छन् । “नेपाल आएर आफ्नो भाषाको गीत गाउन पाउँदा लागेको खुसी शब्दमा व्यक्त गर्न सकिँदैन । हामी नेपाल बाहिर भए पनि नेपाली हौँ, भारतमा हामीलाई नेपाली नै भन्छन्”, प्रतियोगी दासले भने, “दार्जीलिङमा नेपाली गायकको गीत गाउन ‘शो’ आयोजना गरेर धोको पूरा गर्थे ।”
काठमाडौँबाट अडिसन दिएका परेश राईले प्रतियोगितासँगै विश्वभरका नेपालीसँग प्रतिस्पर्धा गर्न पाउँदा छुट्टै अनुभव भइरहेको बताए। छ । “मजस्तो नयाँलाई यस्ता प्रतियोगिताले अवसर दिन्छ भनेर यहाँबाट सुरुआत गरेँ”, उनले भने, “विश्वभरका नेपालीसँग बसेर प्रतियोगितामा सहभागी भइरहँदा उहाँहरुको भाषा, संस्कृतिका बारेमा नजिकबाट चिन्ने र बुझ्ने अवसर दिएको छ ।”
भारतबाट प्रतियोगितामा सहभागी भएका प्रतियोगी विवेक परियारले नेपाली गीतसङ्गीतको लगावले यहाँसम्मको यात्रा तय गर्न सकेको बताए। उनले भने, “अन्य प्रतियोगितामा के गरेँभन्दा पनि यहाँ के गर्दैछु भन्ने महत्वपूर्ण छ । यहाँ अवसर सिर्जना भएपछि भारतका प्रतियोगिता छाडेर यहाँ सहभागी भएको हुँ ।” उहाँले नेपालबाट पाउने उपलब्धि आफ्नो परिवार र समाजका लागि विशेष हुने बताए। पहिलोपटक नेपाल आउँदा घरमै भए जस्तो लागिरहेको उनको अनुभव छ ।
भारतको सिक्किमबाट प्रतियोगी बन्नुभएका प्रितम राईले जिल्ला र प्रान्तको केही प्रतियोगिता जितेर आफूलाई गायकका रुपमा परिचित गराई सकेका छन् । उनी नेपालमा आएर प्रतियोगी बन्न पाउँदा उत्साहित छन्। “हामी भारतीय गीत बढी सुन्ने गरे पनि माया नेपाली गीतमै छ । मेरो परिवार र मलाई माया गर्ने शुभचिन्तकले पनि नेपाली प्रतियोगितामा सहभागिता जनाउन प्रेरणा दिनुभयो”, प्रतियोगी राईले भने, “यही प्रतियोगिताले मलाई नेपाल ल्यायो । निकै खुसी छु । घर जस्तै महसुस गरेको छु, किनकि सबै नेपाली हौँ । यहाँ हामी एउटै परिवार जस्तो बनेका छौँ ।”
प्रतियोगी शरद हुमागाईँले सामाजिक सञ्जालमार्फत प्रतियोगिताका बारेमा जानकारी पाएर सहभागिता जनाए । उनले ‘मेरो भ्वाइस युनिभर्स’ को प्रचार सामग्रीले आफूलाई आकर्षित गरेको बताए।
भारतको सिक्किमबाट आउनुभएका शिशिर ठटालले केही ‘वेब’ शृङ्खलाका लागिसमेत गीत तयार गरिसकेका थिए । उनले यस प्रतियोगितालाई सिकाइको अवसरका रुपमा लिएको बताए। “म यो यात्रामा हेर्न, रम्न र सिक्न चाहन्छु । भारतमा केही काम गर्दा भन्दा नेपालमा अहिले काम गरिरहँदा खुसी लागेको छ”, प्रतियोगी ठटालले भने, “यही प्रतियोगिताले पहिलोपटक नेपाल ल्याएको छ । यहाँ आउँदा अर्को देश वा घरबाट बाहिर छु जस्तो लागेकै छैन ।” प्रतियोगितामार्फत नतिजा जे सुकै आए पनि सङ्गीतलाई निरन्तरता दिने उनको योजना छ । प्रतियोगीका रुपमा उनले चाहिने हरेक सहजता प्राप्त गरेका छन् ।
यस्तै अनुभव छ राजु तामाङको । उनले काठमाडौँबाटै अडिसन दिनुभयो र उत्कृष्ट दशसम्मको यात्रा तय गरे। पहिलादेखि नै उनलाई यस किसिमका प्रतियोगीतात्मक कार्यक्रममा सहभागी हुने रहर थियो । “धेरै देशका नेपाली भाषीलाई एउटै मञ्चमा भेट्न पाउँदा धेरै कुरा सिक्न पाएका छौँ”, तामाङले भने, “प्रतियोगिताको नियमरढाँचाका कारण हामीले हरेक शृङ्खलामा बिदाइ त गर्नै पर्छ । यद्यपि, परिवारकै सदस्य छोडेर गएको जस्ती अनुभूति हुने गरेको छ ।”
यस मञ्चमा प्रवासबाट आएका धेरै नेपाली आवाज गुञ्जिएको छ । उहाँहरुको मेहनत, चाहना र लगनशीलताले नेपालबाटै सहभागी भएका प्रतियोगीलाईसमेत प्रेरणा दिइरहेको छ ।
नेपालमा आयोजना भएका ‘रियालिटी शो’मध्ये अहिलेसम्मकै सबैभन्दा धेरै राशिको पुरस्कारको व्यवस्था गरिएको छ । गायन प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही रू एक करोड, दोस्रो हुनेले रू ३० लाख र तृतीय हुनेले रू २० लाख पुरस्कार प्राप्त गर्नेछन् । समूह नृत्यका विजेतालाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ का निर्णायकमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र सुजाता बर्मा छन्। नेपाल टेलिभिजनमा बुधबार र बिहीबार बेलुकी ८ः५० बजेदेखि उक्त कार्यक्रम प्रसारण भइरहेको छ । विश्वका ५२ भन्दा बढी देशबाट प्रतिस्पर्धामा छानिएर आएका प्रतिभाको अन्तिम प्रतिस्पर्धासम्म आइपुगेका उनीहरु प्रतियोगिताको जित्ने दौडमा छन्।
नेपाली मूलका भूटानी अमेरिकी युवा व्यवसायी डिल्ली अधिकारीलगायतले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न गायन र नृत्यका दुई प्रतियोगिताको आयोजना गरेको हो ।