अन्तर्राष्ट्रिय

प्रधानमन्त्री सरिफ र स्वीस विदेशमन्त्रीबीच भेटवार्ता

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री र स्वीस विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले स्वीस सङ्घीय काउन्सिलर एवम् विदेशमन्त्री इग्नाजियो क्यासिससँगको भेटमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने उपायहरूबारे छलफल गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री सरिफको निमन्त्रणामा संसद्का तीन सदस्यसहित स्वीस विदेशमन्त्री तीनदिने पाकिस्तान भ्रमणमा गत शुक्रबार इस्लामावाद आएका हुन् । भेटमा प्रधानमन्त्री सरिफले स्विट्जरल्याण्डसँगको सम्बन्धलाई पाकिस्तानले उच्च महत्व दिएको बताएका थिए ।

दुवै पक्षले विशेषगरी जलवायु परिवर्तन, व्यापार तथा लगानी, विकास सहयोग, उच्च शिक्षा र व्यावसायिक तालिमका क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता दोहो¥याएका प्रधानमन्त्रीको कार्यालयले जारी विज्ञप्तिमा भनिएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीले स्वीस व्यवसायको समस्या समाधान गर्ने दृष्टिकोण र तिनीहरूको कार्य नैतिकताको प्रशंसा गर्दै थप स्वीस कम्पनीहरूलाई पाकिस्तानमा लगानी गर्न आमन्त्रणा गरे । उनले विशेष गरी नवीकरणीय ऊर्जा र सूचना प्रविधिको क्षेत्रमा स्वीस लगानी आह्वान गरेका थिए ।

प्रधान सरिफले सन् २०२२ मा बाढीबाट आहत भएको पाकिस्तानलाई सहयोग गरेकामा स्वीस सरकारप्रति कृतज्ञता व्यक्त गरेका थिए ।